काठमाडौं- जनता समाजवादी पार्टीका सांसद सहश्रम यादवले प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तुमा हुनुपर्ने माग गरेका छन्। सबै जिल्लालाई पायक पर्ने गरी स्थान कपिलवस्तु भएकाले पनि सो स्थान उपयुक्त हुने उनको भनाइ छ।
प्रदेशसभामा बोल्दै यादवले बुद्ध जन्मेको भूमिमा स्थायी राजधानी हुदा विश्वभर समेत राम्रो सन्देश जाने बताए। अहिले २ तिहाईले स्थायी राजधानी टुंगो लगाउने कानूनी प्रावधान भएकाले सहमतिबाटै स्थायी राजधानी टुंगो लगाउनु पर्ने यादवले बताए।
‘कांग्रेसले अस्थायी राजधानी बुटवलमा तोक्यो अहिले फेरी स्थायी राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएको छ,’ यादवले भने, ‘स्थायी राजधानी बनाउने विषयमा विवाद गरेर हुँदैन। सबैले सहमति गरौं। सहमतिबाट स्थायी राजधानीको विकल्प खोजौं।’
संविधान घोषणा गर्नेक्रममा ५० प्रतिशत जनसंख्यालाई असन्तुष्ट बनाएर कांग्रेस-कम्युनिस्टले भद्र सहमतिका नाममा संविधान घोषणा गरेको यादवले स्मरण गरे। अहिले पनि मधेसी, जनजाति, मुस्लिम दलित लगायत असन्तुष्ट नै रहेको उनको भनाई छ।
संघीय लोकतान्त्रिक संविधान ल्याउन जनयुद्ध जनआन्दोलन र मधेस आन्दोलनको पनि उत्तिकै योगदान रहेको यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।