काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने प्रस्तावको विरोधमा रुपन्देहीमा भइरहेको बन्द, हड्ताल तथा प्रदर्शनका क्रममा आन्दोलनरत पक्षबाट सरकारी सवारी साधनहरुमाथि भएको आगजनी तथा तोडफोडप्रति ध्यानाकर्षण भएको बताएको छ।
आयोगको प्रदेश कार्यालय बुटवलले घटनाका सम्बन्धमा अनुगमन गरिरहेको भन्दै उक्त क्षेत्रमा हिंसात्मक कार्य भएकाले विरोधका कार्यक्रममा संयमता अपनाउन आग्रह गरेको छ।
अनुगमनका क्रममा तिलोत्तमा नगरपालिकामा कार्यरत एक राष्ट्रसेवक कर्मचारीको सवारी साधन तथा निजका व्यक्तिगत सरसामानहरु समेत जलाइएको, प्रदेशका मुख्यमन्त्री चढेको गाडी तथा अन्य सरकारी सवारी साधनहरुमा समेत ढुंगामुढा, तोडफोड तथा आगजनी गरिएको पाइएको आयोगले जनाएको छ।
बन्दको कारण रुपन्देही र आसपासका जिल्लाहरुमा बिरामी, बृद्ध, गर्भवती, श्रमिक लगायत आमनागरिकहरुको आवागमन तथा दैनिक जीवनमा कठिनाई उत्पन्न भएको आयोगले जनाएको छ।
‘असहमतिका कुनै पनि विषयमा शान्तिपूर्णरुपमा विरोध तथा प्रदर्शन गर्न पाउने हक प्रत्येक नागरिकलाई भए तापनि आगजनी, तोडफोड जस्ता कार्यहरु कुनै पनि दृष्टिकोणबाट उचित हुँदैनन्’, आयोगको विज्ञप्तिमा भनिएको छ, ‘अतः विरोधका कार्यक्रमरुलाई हिंसात्मक नबनाई संयमित र शान्तिपूर्ण रुपमा अगाडि बढाउन तथा आफ्ना असहमतिका विषयहरुको वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न आयोग आन्दोलनरत पक्षलाई आग्रह गर्दछ।’
शान्तिपूर्ण रुपमाविरोध प्रदर्शनमा उत्रिएका नागरिकहरुमाथि मर्यादित र संयमित व्यवहार गर्न पनि आयोग स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।