नवलपरासी– नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ।
सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले यस्तो संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी हरपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाशकुमार ढकालले जानकारी दिए।
नेपाल—भारत दशगजा क्षेत्र नवलपरासीको पाल्हीनन्दन–२, गोपालपुर ५०५ नम्बर पिलरदेखि सुरु भएको गस्ती पाल्हीनन्दन–६ गेर्मीस्थित पिल्लर नम्बर ५०८ सम्म भएको सशस्त्र प्रहरी निरीक्षक ढकालले बताए।
सो संयुक्त सीमा सुरक्षा गस्तीमा भारतीय सीमा सुरक्षाकर्मीको नेतृत्व भारतीय एसएसबी ठुठीबारीका प्रहरी निरीक्षक रागबेन्द्र सिंह र नेपालतर्फ सशस्त्र प्रहरी, हरपुरका सशस्त्र प्रहरी निरीक्षक ढकालले गरेका थिए।
संयुक्त सीमा सुरक्षा गस्तीमा भारतीय एसएसबी ठुठीबारीका तर्फबाट ११ जना र नेपाली सुरक्षाकर्मी सशस्त्र प्रहरी हरपुरका १३ जना सुरक्षाकर्मीको सहभागिता रहेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।