प्रदेश ५ को प्रदेशसभा बैठक। प्रदेशको राजधानी भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएपछि विरोध हुँदै आएको छ।
काठमाडौं- प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रलाई तोकिएको विषय विरोध भएपछि विवाद समाधान गर्न बोलाइएको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ। सत्तापक्ष नेकपाले केन्द्रीय नेतृत्वसँग छलफल गर्नका लागि समय माग गरेपछि विना निष्कर्ष बैठक टुंगिएको हो।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्त्तापक्षले एकतर्फी रुपमा प्रदेशको राजधानी तोकेको भन्दै विरोध जनाएको थियो। यसका साथै कोरोना महामारीका बेला कोरोना नियन्त्रणमा भन्दा अन्य विषयमा नै सत्तापक्षको ध्यान केन्द्रित भएको भन्दै कांग्रेसले असन्तुष्टिको धारणा राखेको बैठकमा सहभागी नेकपाका प्रदेश सांसद भूमिश्वर ढकालले नेपाल लाइभलाई जानकारी दिए।
कांग्रेसको सो धारणापछि नेकपाले भने यसअघि राजधानी तोक्ने विषयमा गठन भएको कार्यदलको सिफारिसका आधारमा नै भालुवाङलाई राजधानी तोकिएको बताएको थियो। तैपनि केन्द्रीय नेतृत्वसँग छलफल गरी अझ पनि सर्वसम्मत रूपमा राजधानीको विषय टुंग्याउन आफूहरू खुला भएको जानकारी गराएको थियो।
नेकपाले केन्द्रीय नेतृत्वसँग छलफल गर्नका लागि समय माग गरेपछि सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ। बैठक सोमबार बिहान ८ बजे पुनः बस्ने गरी टुंगिएको सांसद् ढकालले जानकारी दिए।
प्रदेशसभामा भालुवाङ क्षेत्रलाई राजधानीका रूपमा प्रस्ताव गरिएपछि बुटवल क्षेत्रमा दिनहुँ विरोध हुँदै आएको छ। नेकपा रुपन्देहीले समेत नेकपा सरकारकै निर्णयको विरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।