काठमाडौं- नेकपा पाँच नम्बर प्रदेश संसदीय दलको बैठकले प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा सर्वसम्मत मतदान गर्ने निर्णय गरेको छ। शनिबार बिहान ८ बजेदेखि साढे १ बजेसम्म बसेको दलको बैठकले सर्वसम्मत मतदान गर्ने निर्णय गरेको प्रदेश सांसद इन्द्रजित थारुले बताए।
‘दलको बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा लामो छलफल भयो। सबैले आ-आफ्नो धारणा राख्नुभयो’ थारुले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘अन्तिममा दलको बैठकले प्रस्तावित नाम र राजधानीमा सर्वसम्मत मतदान गर्ने निर्णय भयो। प्रदेशको नाम र राजधानीका विषयमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको नाम र राजधानीका विषयमा निर्देशन दिएका थिए।
त्यही निर्देशनबमोजिम प्रदेशको नाम र राजधानी राख्न प्रदेश सरकारलाई सजिलो भएको हो।
शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव गरेका थिए। दलले सर्वसम्मत रुपमा मतदान गर्ने निर्णय गरेपछि नेकपाको एकल बहुमतले प्रदेशको नाम र राजधानी टुंगो लगाउन सक्ने भएको छ। शुक्रबार पेश भएको उक्त प्रस्तावमाथि आगामी सोमबार मतदान हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।