काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आफ्नै निवास बालुवाटारमा बिहीबार १० बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। आजको बैठकले मन्त्रालय फुटाउने निर्णय गर्न सक्ने बताइएको छ।
मन्त्रिपरिषद सचिवालयले बुधबार राति अबेर मात्र मन्त्रीहरुलाई बैठकबारे जानकारी दिएको थियो। ‘बैठकको जानकारी पठाउन भनियो तर एजेन्डाबारे मन्त्रीहरुलाई केही खबर गरिएको छैन’, प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘आजको बैठकमा मन्त्रालयहरु टुक्राउनेसहित नयाँ मुख्यसचिव नियुक्तिका विषयमा पनि निर्णय हुनसक्छ।’
नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा भएका पटक-पटकका छलफलमा मन्त्रालय टुक्राएर भए पनि अधिक नयाँ अनुहारहरुलाई मन्त्रिपरिषदमा समावेश गर्ने सहमति भइसकेको छ। तर, क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।