कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ। असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजा लगायत बालीमा क्षति पुर्याएको हो।
नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
वडा नं २, ३, ४ र ११ मा लगाइएको बेमौसमी मकै, बाली, मुङ र केरा खेतीमा क्षति पुर्याुएको शाखाका प्रमुख वीरबहादुर कुँवरले बताए।
'चार वटै बालीमा झन्डै सात लाखभन्दा बढीको क्षति भएको पाएका छौं', उनले भने।
असिना पानीसँगै आएको हावाहुरीले बोट ढालेको र असिनापानीले चुट्दा पूरै बाली नै सखाप हुनाका साथै आँप र लिचीमा लागेका ९० प्रतिशत दाना झरेको छ।
शुक्लाफाँटाको पिपलाडीका किसान लक्ष्मण चौधरीले असिनापानीले खेतमा लगाइएको गोलभेँडा पूरै नष्ट पारेको बताए।
'पाँच कट्ठा जग्गामा लगाइएको गोलभेँडा पाकेर टिप्ने तरखरमै थियौं, टिप्न नपाउँदै पूरै बाली नोक्सान भएको छ', उनले भने।
यहाँका व्यावसायिक तरकारी र फलफूल खेतीमा संलग्न किसानले प्राकृतिक प्रकोपले पुर्याएको क्षतिको पूर्ति गरिदिन माग समेत गरेका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।