काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपाध्यक्ष वामदेव गौतमबारे संवैधानिक इजलासले गर्ने फैसलालाई पर्खिएका छन्।
बुधबार पुनः दुई अध्यक्ष भेट्ने समय तय भए पनि गौतमको निर्णयलाई पर्खिएकाले स्थगित भएको प्रधानमन्त्रीनिकट एक नेताले बताए। गौतमको मुद्धा किनारा लागेपछि मात्र मन्त्रिपरिषद पुनर्गठनको छलफल जारी हुने भएको हो।
गौतमले निर्वाचनमा हारे पनि राष्ट्रिय सभामा सिफारिस भएको भन्दै गत असोज ५ गते सर्वोच्च अदालतमा मुद्धा परेको थियो। त्यहीँ मुद्धाको विषयमा बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।
मन्त्रिपरिषद पुनर्गठनकै विषयमा ओली र प्रचण्डले लगातार पाँच दिन छलफल गरिसकेका छन्। सर्वोच्च अदालतले गौतमलाई मन्त्री हुने बाटो खोलेमा पुनर्गठनमा उनी पनि पर्ने सम्भावना देखिएको छ। गौतमलाई मन्त्री बनाउने वा नबनाउने भन्ने विषयमा दुई अध्यक्ष एक मत छैनन्।
प्रधानमन्त्री ओली गौतमले चुनाव हारेकाले सांसद बनाए पनि मन्त्री बनाउने पक्षमा छैनन्। मन्त्री नै बनाउनु पर्ने अवस्था आए गौतमपत्नी तुलसा थापा मगरलाई बनाउने आश्वासन ओलीले यसअघि दिएका थिए। तर अर्का अध्यक्ष प्रचण्ड गौतमलाई मन्त्री बनाउँदा राम्रै हुने भन्दै लविङमा लागेका छन्। गौतमले नै मन्त्री हुन दबाद दिएकाले प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसमेत एक मत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।