काठमाडौं- गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुसँग छलफल गरेका छन्। छलफलका क्रममा अधिकारीले कोभिड- १९ ले आक्रान्त पारिरहेको अवस्थामा सबैभन्दा पहिला आफ्ना ग्राहकहरुलाई बचाउन अनुरोध गरेका छन्। अधिकारीले सबैभन्दा पहिला बैंकिङ क्षेत्रलाई बचाउन सबै जना लाग्नुपर्ने बताएका थिए।
बैंकिङ क्षेत्रलाई बचाउने उद्देश्यका साथ राष्ट्र बैंकले धेरै कुराहरुमा लुज छाडिदिएकाले ऋणी तथा निक्षेपकर्ताको हितमा लाग्न बैंकहरुलाई अनुरोध गरेका छन्। भर्चुअल मिटिङमा अधिकांश बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरु रहेका थिए। गभर्नर अधिकारीले बैंकहरुलाई मर्जरको विषयलाई पहिलो प्राथमिकता नबनाउन समेत सुझाएका छन्।
पहिलो कुरा बाच्नुपर्ने र बाचेपछि मात्रै अन्य कुराहरु गर्न सकिने भएकाले उद्योग बचाउने विषयमा उनले विशेष जोड दिएको छलफलमा सहभागी एक अध्यक्षले जानकारी दिए।
पछिल्लो समय राष्ट्र बैंकले मर्जरको विषयलाई विशेष जोड दिँदै आएका थिए। तर मंगलबारको छलफलमा उनले मर्जरको विषयमा बैंकहरुलाई स्वेच्छिक रुपमा अगाडि बढ्न सुझाएका छन्। बैंकहरुलाई सहज रुपमा अगाडि बढ्न अझ के के गर्नुपर्ने हो त्यो गर्न आफू तयार भएको भन्दै विश्वस्त पार्न खोजेका थिए।
छलफलमा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले मन्तव्य दिएका थिए। धेरै जसो अध्यक्षले बोलेको कुरालाई अधिकारीले चासोका साथ सुनेका थिए। बैंक तथा वित्तीय संस्था तथा नेपाल राष्ट्र बैंक नै कोभिड १९ को असरबाट बाहिर आउन आउनु पहिलो प्राथमिकता भएको अधिकारीले बताएका थिए।
उनको विशेष जोड अहिलेको अवस्थामा ऋणीलाई बचाएर अगाडि बढ्नुपर्नेमा थियो। ऋणी बाँचेमात्रै हामी बाँच्ने भन्दै अधिकारीले बैंकहरुलाई ऋणीलाई बचाउन अनुरोध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।