काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले किरातहरुको महान चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायप्रति शुभकामना व्यक्त गरेका छन्।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुको संगमस्थल भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रो अनुपम विशेषता भएको सन्देशमा लेखेका छन्। 'भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषताहरु हुन्। त्यसैगरी किरात जाति पनि आफ्नो मौलिक संस्कृति र विशेषता बोकेको आदिवासी हो। किरात विविध मूल्य मान्यता र संस्कारले धनी मानिन्छ,’ शुभकामना सन्देशमा उल्लेख छ।
किराँतहरूको उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। किरातहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरेको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।