लहान- स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सिरहाको मिर्चैया नगरपालिकाभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन्। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयदेखि अवरुद्ध पठनपाठन नगरपालिकाको निर्णयअनुसार असोज ११ गतेदेखि नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन हुने भएको हो।
मिर्चैया नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्थाबमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागेको जनाइएको छ।
कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुनेगरी सिफ्टमा सञ्चालन गरिनुपर्ने, लकडाउन अवधिको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय गरेको सूचनामा उल्लेख छ। विद्यार्थीलाई बसमा ल्याउँदा एकातर्फको जोडी सिटमा एक जना मात्र बस्ने र विद्यालयमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउन निर्देशन दिइएको छ।
यस्तै विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जनामात्र बस्न पाउने तथा विद्यालयमा भौतिक दूरी कडाइका साथ पालना गराउने सूचनामा उल्लेख छ। विद्यार्थीमा कुनै किसिमको लक्षण देखिए तत्कालै जाँच गराउन लगाउने पनि भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।