काठमाडौं- संघीय संसद् सचिवालयमा दुई सचिव थपिने भएका छन्। प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र राष्ट्रियसभामा राजेन्द्र फुयाँलको नाम राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अनुमोदन गरेपछि दुई सचिव राजनीतिक नियुक्तिबाट थपिएको हो।
सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक–एक जना सचिव नियुक्तिका लागि चैत २६ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।
संविधानको धारा १०६ को १ मा प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख तथा अध्यक्षको सिफारिसमा सचिव नियुक्तिको व्यवस्था छ। सोही व्यवस्था अनुसार २ जनाको राजनीतिक सिफारिस भएको थियो।
सचिवहरूले संसद् बैठक सञ्चालनमा सहजीकरण गर्नेछन्। तर, व्यवस्थापनको काम भने गर्न पाउने छैनन्।
योगीको नाम विगतमा ओनसरी घर्तीले पनि राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि स्वीकृत भएको थिएन। उनै योगीलाई महराले प्रतिनिधिसभामा पुनः सिफारिस गरेका हुन्।
त्यस्तै, राष्ट्रियसभामा सचिव नियुक्त भएका पत्रकार फुयाँल कान्तिपुर दैनिकमा आबद्ध थिए। उनले पहिलो संविधानसभाको असफलताबारे पुस्तक समेत लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।