काठमाडौं- नेपालले ६ वर्षदेखि अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औँ शिखर सम्मेलन आयोजनाका लागि सबै विकल्प खोजी गर्न सदस्य देशहरूसँग आग्रह गरेको छ।
सार्कमा नयाँ उत्साह ल्याई गतिशील तुल्याउन १९औँ शिखर सम्मेलन चाँडै आयोजना गर्नुपर्ने नेपालकाे तर्क छ। सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपालले व्यावहारिक विकल्पको खोजीका लागि सदस्य राष्ट्रलाई आग्रह गरेको हो।
संगठनको अध्यक्ष राष्ट्रसमेत रहेको नेपालले बिहीबार आयोजना गरेको सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस्ताे बताएका हुन्।
दक्षिण एसियाका जनताको जीवन निर्वाहमा प्रत्यक्ष परिवर्तन गराउन सक्षम, प्रभावकारी एवं परिणाममुखी क्षेत्रीय सङ्गठन बनाउनुपर्नेमा उनकाे जाेड थियाे।
कोभिड-१९ विरुद्ध लड्न र महामारीको प्रभाव घटाउने अनुकूल उपाय विकास गर्न सदस्य राष्ट्र सामूहिकरुपमा सघनताकासाथ लाग्नुपर्ने आवश्यकता बैठकका अध्यक्ष मन्त्री ज्ञवालीले औँल्याए। बैठकमा सबै सदस्य मुलुकका विदेश मामिलामन्त्री सहभागी थिए।
भारतले देखेका तीन चुनौती
यसैबीच भारतीय विदेशमन्त्री एस जयशंकरले सार्कले अहिले देखिएका तीन मुख्य चुनौतीलाई चिरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्। शुक्रबार हुने सार्कका मन्त्रिस्तरीय भर्चुअल बैठकअघि आफ्ना भनाई राख्दै उनले तीन मुख्य चुनौती चिर्नु सार्कको दायित्व हुने बताएका हुन्।
पाकिस्तानका विदेशमन्त्री साह माेहमद कुरैसीले पाकिस्तान सार्क शिखर सम्मेलन आयाेजना गर्न तयार रहेकाे बताएका छन्। शुक्रबार हुने बैठकले यसबारे छलफल गर्ने आसा उनले व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।