काठमाडौं- जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीलाई प्रहरी प्रधान कार्यालयले काठमाडौं तानेको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार आर्थिक लेनदेनमा मुछिएको पाइएपछि उनलाई काठमाडौं तानिएको हो।
रेग्मीलाई सम्पत्ति शुद्धीकरण विभाग पठाइएको छ। सम्पत्ति शुद्धीकरण विभागका एसपी महेन्द्र खड्कालाई धादिङ प्रमुखको जिम्मेवारी दिइएको छ। गत मंसिरमा धादिङ सरुवा भएका रेग्मी १० महिना नपुग्दै जिम्मेवारीबाट हटाइएका हुन्। सामान्यतया एक वर्ष नपुगी सरुवा नगरिने प्रहरी नियमावलीमा उल्लेख छ।
त्यस्तै आर्थिक लेनदनेमै मुछिएपछि महानगरिय प्रहरी प्रभाग फर्पिङकी प्रमुख इन्स्पेक्टर अनु लामालाई पनि जिम्मेवारीबाट हटाइएको छ।
उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको स्रोतले जानकारी दियो। उनी पनि ८ महिना पहिलामात्रै फर्पिङको प्रमुख भएर गएकी थिइन्।
यसअघि महानगरीय प्रहरी प्रभाग बुढानिलकण्डका इन्सपेक्टर भुपेन्द्र गिरी पनि आर्थिक लेनदेनमा मुछिएको पाइएपछि महानगरीय प्रहरी कार्यालय रानिपोखरीले उनलाई जिम्मेवारीबाट हटाएको थियो। पछिल्लो समय आर्थिक लेनदेन संलग्न रहेको पाइए प्रहरी प्रधान कार्यालयले तुरुन्तै जिम्मेवारीबाट हटाउने नीति लिएसँगै आर्थिक अनियमिततामा जोडिएका धमाधम कारबाहीमा पर्न थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।