काठमाडौं- स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाको भ्याक्सिन बनेपछि नेपाललाई सहज रुपमा उपलब्ध गराउन भारत, रुस र चीन लगायतका मुलुकसँग दुईपक्षीय कुराकानी भइरहेको बताएका छन्।
संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सचिव अर्यालले यस्तो जानकारी दिएका हुन्। चिकित्सकहरुको जोखिम भत्ताका विषयमा मन्त्रिपरिषद्ले तयार पारेको कार्यविधि अनुसार वितरण भइरहेकोसमेत उनले जानकारी गराएका छन्।
छलफलमा सहभागी मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीले अहिले भेन्टिलेटर भन्दा अक्सिजनको उपचार विधि लाभदायक देखिएको बताए। आयुर्वेदिक औषधिको परीक्षण र प्रयोग नेपालमा पनि भइरहेको सन्दर्भमा ७, ८ दिनमा रिपोर्ट नेगेटिभ आउने गरेको उपचारमा संलग्न व्यक्तिहरुले रिपोर्ट गर्ने गरेको उनको भनाइ छ।
'यसका साथै पालिकाहरुमा स्थापना हुने अस्पतालहरुमा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक पालिकामा १ जना चिकित्सकको व्यवस्था गर्ने गरी योजना अगाडि छ,' उनले भने।
समितिका सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रम बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको बताएका थिए। राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बिहीबार भएको छलफलमा सांसदहरुले कोरोनाका विषयमा तथ्यगत जानकारी सम्प्रेषण हुन नसक्दा जनतामा आतंक फैलिएको बताएका हुन्।
सांसद रामचन्द्र राईले कोरोना महामारी हो कि सरुवा रोग मात्रै हो भन्ने कुरा प्रष्ट पार्नुपर्ने बताए। स्वास्थ्य मन्त्रालयका अधिकारी सहभागी बैठकमा उनले सरुवा रोग मात्रै हो भने कोकोहोलो किन गर्नुपरेको भन्दै प्रश्न गरेका थिए। महामारी नै हो भने सामान्य अवस्थाको मृत्युदर र अहिलेको मृत्युदरको विश्लेषण हुनुपर्ने उनको भनाइ थियो।
सांसद कोमल वलीले लक्षण देखिएकालाई मात्रै पिसिआर परीक्षण गर्ने नीति ठिक नभएको बताइन्। संक्रमित भएर उपचार गराइरहेको व्यक्तिले अन्य व्यक्तिमा संक्रमण फैलाउने दर बढी हुने भएकाले लक्षण देखिए मात्रै परीक्षण गर्ने नीति ठिक नभएको उनको भनाइ छ। परीक्षणमा भएको खर्चभन्दा पनि जनताको स्वास्थ्य ठूलो कुरा भएको उनले बताइन्।
सांसद गोपीबहादुर सार्कीले कोभिडको विषयमा बढी चर्चा र आतंक फैलाइएको बताए। आतंक सिर्जना हुने गरी भएको प्रचारले आम मानिसमा मनोवैज्ञानिक असर गरेको उनको भनाइ थियो।
सांसद शेखर कुमार सिंहले स्थानीय तहमा अस्पतालको संख्या मात्रै नभएर जनशक्ति पनि बढाउनेतिर ध्यान दिनुपर्ने बताए।
सांसद अनिता देवकोटाले अबको अवस्था कसरी सामान्य बनाउन सकिन्छ भन्ने तर्फ ध्यान दिनुपर्ने बताइन्। कोभिड-१९ संक्रमणको जोखिम नेपालमा पनि हुन्छ भन्ने थाहा भएपनि रोकथामका लागि सरकार र संसदले आवश्यक योजना बनाउन नसकेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।