काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सकिएको छ। दुई शीर्ष नेताबीच बिहान साढे ११ बजेदेखि साढे २ बजेसम्म छलफल भएको हो।
मन्त्रीमण्डल पुनर्गठन र बाँकी रहेको पार्टी एकताको टुंगो लगाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। मन्त्रीमण्डल हेरफेरका साथै समसामयिक राजनीतिक विषयमा पनि दुई नेताहरूबीच छलफल भएको बताइएको छ।
आइतबार र मंगलबार बसेको सचिवालय बैठकले स्थायी कमिटीको निर्णयमाथि छलफल गरी मन्त्रीमण्डल हेरफेर गर्न प्रधानमन्त्रीलाई सुझाव दिएकाे थियाे।सचिवालय बैठकमा नेताहरुले तीन मापदण्ड बनाएर पुनर्गठन गर्न सुझाव दिएका छन्।
पहिलो मापदण्डमा प्रधानमन्त्रीबाहेक सबै मन्त्रीलाई हटाउने, दोस्रो दुई वर्ष कार्यकाल पुगेकालाई मात्रै हटाउने र तेस्रो राम्रो काम गर्न नसकेका मन्त्रीलाई हटाएर पुनर्गठन गर्न सुझाव दिएका छन्। त्यहीँ सुझावका आधारमा अध्यक्ष ओली-प्रचण्डलाई पुनर्गठनको अधिकार दिइएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।