काठमाडौं- पार्टी एकता भएको ६ महिनापछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा चुनाव चिह्नमा सहमति जुटेको छ। एकतालाई पूर्णता दिन सोमबार अध्यक्षत्रय पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाको बैठक बसेको थियो।
'चुनाव चिह्न हलो हुने सहमति भयो', राप्रपा नेता राजाराम बर्तौलाले भने।
गत फागुन २४ गते राप्रपा र राप्रपा संयुक्तबीच एकताका लागि आधार पत्रमा हस्ताक्षर भएको थियो। सोही अनुसार फागुन २९ मा पार्टी एकता भएको थियो। तर चुनाव चिह्न के हुने भन्ने विषयमा पूर्व दुई पार्टीबीच सहमति नजुट्दा एकताले पूर्णता पाउन सकेको थिएन।
एकताअघि थापा नेतृत्वको राप्रपाको चुनाव चिह्न गाई थियो। त्यस्तै राणा-लोहनी नेतृत्वको राप्रपा संयुक्तको चुनाव चिह्न हलो थियो।
पछिल्लो सहमतिसँगै निर्वाचन आयोगमार्फत पार्टी एकतालाई पूर्णता दिने बाटो खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।