धनगढी- ७ नम्बर प्रदेशको सरकारले चालू आर्थिक वर्ष २०७४/०७५ का लागि ल्याएको अल्पकालीन बजेट संसदबाट सर्वसम्मतिले पारित भएको छ।
प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पेश गरेको एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट शनिबार बसेको संसद बैठकबाट पारित भएको हो। बजेटको विपक्षमा कसैको मत नआएपछि सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले बजेट स्वीकृत भएको घोषणा गरे।
बजेट खर्च गर्ने अख्तियारीसम्बन्धी विनियोजन विधेयक २०७५ प्रति विपक्षी पार्टीका सांसदले असहमति जनाएनन्। यो विधेयक चालू आर्थिक वर्षका लागि मात्रै रहनेछ। यसअघि विपक्षी पार्टीका सांसदहरुले दुई वटा संशोधन प्रस्ताव दर्ता गरे पनि बैठकबाट फिर्ता लिएपछि त्यसबारे छलफल भएन।
मन्त्री बोहराले सार्वजनिक खरिद ऐन र नियमावलीमा रहेर मात्रै बजेट खर्च गर्ने प्रतिबद्धता जनाए।
संसदको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री बोहराले अल्पकालीन बजेट कार्यान्वयनका लागि प्रदेश सरकार जनताको घरदैलोसम्म पुग्ने बताए।
प्रदेशसभाको अर्को बैठक बैसाख १९ गते बुधबार दिउँसो १ बजे बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।