काठमाडौं–नेकपा सचिवालयको पेरिसडाडामा हुने पहिलो बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तिसम्मका विषयमा छलफल हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाडामा बस्न लागेको हो। बैठक शुक्रबार विहान ११ बजे बस्दैछ।
विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा स्थायी कमिटीले संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरिसकेको छ। स्थायी कमिटीको निर्णयबमोजिम एजेण्डाकै रुपमा मन्त्रिमण्डल पुनर्गठनबारे सचिवालय बैठकमा छलफल हुने एक सचिवालय सदस्यले बताए। सरकारका काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सचिवालय बैठकले प्रधानमन्त्रीलाई सुझाव दिने भएको हो।
‘मन्त्रीमण्डल पुनर्गठन प्रधानमन्त्रीको क्षेत्राधिकार भए पनि सचिवालय बैठकले आफ्नोतर्फबाट सुझाव दिन्छ’ ती सचिवालय सदस्यले भने, ‘सचिवालय बैठकको सुझावलाई मनन गर्दै प्रधानमन्त्रीज्यूले मन्त्रीमण्डल पुनर्गठन गर्नुहुने छ।’
सरकारमा कुन–कुन मन्त्री रहने वा नरहने भन्ने विषयमा चर्चा सुरु हुन थालेको छ । यस्तै सरकारमा जाने सम्भावित मन्त्रीको विषयमा समेत पार्टीमा छलफल हुन थालेको छ। कोरोना महामारीमा सरकारले खेल्नु पर्ने भूमिका विषयमा समेत बैठकमा छलफल हुने भएको छ।
संवैधानिक पदमा रिक्त रहेका पदहरुका विषयमा समेत सचिवालय बैठकमा छलफल हुने अर्का सचिवालय सदस्यले बताए। अहिले अख्तियारलगायत महत्वपूर्ण निकायमा ४२ पद रिक्त छन्। संवैधानिक पदको भागवण्डाका विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल हुने भनिएको थियो। सचिवालय बैठकको अघिल्लो दिन बिहीबार छलफल हुने भनिए पनि देउवा कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि स्थगित भएको हो।
सांगठनिक एकताका विषयमा समेत सचिवालय बैठकमा एजेण्डाको रुपमा पेश भई छलफल हुने भएको छ। पार्टी एकताका बाँकी काम असोजभित्र पुरागर्ने स्थायी कमिटीले निर्णय गरेपछि सचिवालय बैठकमा छलफल हुन लागेको हो। यस्तै पार्टी सदस्यताको नवीकरण कात्तिकभित्र प्रदेशमा सिफारिस गरी मंसिरभित्रै टुगो लगाउने भनिएको छ। पार्टीको महाधिवेसन आगामी चैत २५ गतेदेखि ३० गतेसम्म गर्ने निर्णय भएपछि बाँकी रहेका एकताका काम तत्काल गर्न थालिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।