काठमाडौं–नेकपा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २६ गते स्थायी कमिटी बैठकले पारित गरेको ‘कट अफ’ लाई नै अन्तर पार्टी निर्देशनको रुपमा हस्ताक्षर गरी सार्वजनिक गरेका छन्।
गत साउन ३० गते विवाद समाधान कार्यदलले दिएको सुझावलाई संशोधनगरी अध्यक्षद्वयले २६ गतेको स्थायी कमिटी बैठकमा पेश गरेका थिए। त्यहीँ प्रस्तावलाई छरितो बनाई दुई अध्यक्षले अन्तर पार्टी निर्देशनको रुपमा सार्वजनिक गरेका छन्।
पार्टी विभाजन र विग्रह ल्याउन देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु उत्साहित हुने र पार्टी नेता–कार्यकर्ता र नेपाली जनता चिन्तित हुने अवस्थाबाट आफूहरुले बचाएको दुई अध्यक्षले उल्लेख गरेका छन्। पार्टीभित्रको तिक्ततापूर्ण अन्तर्विरोधलाई व्यवस्थापन गर्न, पार्टी एकताको रक्षा गर्न र पार्टीलाई राष्ट्रिय अभिभारामा केन्द्रित गर्न आफूहरु सफल भएको उनीहरुले बताएका छन्।
अध्यक्षद्वय ओली तथा प्रचण्डले धन्यवादको शीर्षकसमेत थप्दै १५ बाट १६ शीर्षक पु¥याएर अन्तरपार्टी निर्देशनका रुपमा सार्वजनिक गरिएको छ। जसमा प्रस्तावको बुँदाको पहिलो नम्बरमा पार्टी एकताको महत्वलाई आत्मसाथ गर्ने,पद्दती र सस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्यको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठन र एकताको राष्ट्रिय महाधिवेसन आयोजना गर्ने भनिएको छ।
यस्तै सरकारको कामका सम्बन्धमा, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने, प्रदेश र स्थानीय निकायको भूमिकालाई प्रभावकारी बनाउने र नेपालको सीमा समस्या र समाधान सम्बन्धमा छलफल गर्ने भनिएको छ।
यस्तै कोरोना महामारी रोकथाम,नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थान गर्ने, बाढी पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना, शान्ति प्रकृतिका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानहरुको व्यवस्थापन तथा सञ्चालन कार्यविधि निश्चित गर्ने र एमसिसीका सम्बन्धमा प्रस्ताव तयार गर्ने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।