बागलुङ– नेवारी परम्परानुसार यहाँका दश कन्याको सामूहिक बेलविवाह (इहीयज्ञ) शुक्रबार सम्पन्न भएको छ।
बिहीबार सुरु भएको यज्ञमा कन्याले दुई दिनसम्म व्रत बसी बेल, कलश, बज्र, चक्र आदिको पूजापाठ गरेका थिए। नेवार जातिमा बालिका रजस्वला नहुँदै बेलसँग विवाह गर्ने प्रचलन छ।
विधिवत रुपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बाबुले कन्यादान दिएपछि विवाह सम्पन्न भएको नेपाल भाषा मंक खल बागलुङले जनाएको छ।
बेलविवाहमा दुलाहा मानेर बेलको पूजा गरिन्छ। सर्वगुणसम्पन्न ज्वाइँका रुपमा सुवर्णकुमारका प्रतीक बेलसँग कन्याको विवाह हुन्छ। बिजोर वर्षका साइतमा बेलविवाह हुने गरेको खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए। नेवारी समुदायमा भने बेलविवाहलाई इहीयज्ञ भनिन्छ।
कम खर्चमा एकैसाथ धेरै बालिकाको बेलविवाह गरिन्छ। खलले केही वर्षअघि पनि बेलविवाहको आयोजना गरेको थियो। विवाहको यज्ञ सञ्चालनका लागि काठमाडौँबाट नेवार पुरोहितलाई झिकाइएको थियो। पुरोहितले कलश राखी गणेश, छत्रपाललगायत अन्य देवगणको पूजापाठ गर्छन्। सामूहिक रुपमा गरिने बेलविवाहका लागि कम्तीमा पाँच बालिका आवश्यक पर्ने अध्यक्ष राजभण्डारीले बताए।
‘बेलविवाह नेवार समुदायको पुरानो संस्कृति हो,’ उनले भने,‘यसको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।’ बेलविवाहमा बागलुङ सदरमुकामबाहेक गलकोट र छिमेकी जिल्ला म्याग्दीका बालिका पनि सहभागी थिए। आउँदा वर्षमा पनि सामूहिक बेलविवाह आयोजना गरिने खलले जनाएको छ।
विवाहको व्यवस्थापनमा बागलुङ कल्याण 8 काठमाडौँले सघाएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।