अछाम– मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन्।
असिनापानीसँगै परेको चट्याङ लागेर मंगलसेन–५ की मनिषा भाट केकी घण्टा बेहोस भएकी थिइन्। अहिले उनको अवस्था सामान्य बनिरहेको प्रहरीले जनाएको छ। अन्य ६ जना घाइते सामान्य उपचारपछि घर फर्किएका छन्।
यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले ६ बाख्रा मरेको तथा १ सयभन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए। किसानले व्यावसायिक रुपमा गरेको बाख्रापालन क्षेत्रमा बाढी परेको थियो।
यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिइन्। उनले भनिन्,‘पाकेको गहुँ असिनाले नष्ट गरिदियो। अब के खाने भन्ने चिन्ताले सताउन थालेको छ।’
बाक्लाे असिना परेपछि तरकारी र गहुँ खेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।