काठमाडौं- संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनका लागि लिबिया जान लागेका नेपाली सेनाका केही जवानमा कोरोना भाइरसको संक्रमण देखिएको छ। केही जवानमा कोरोना संक्रमण पुष्टि भएपछि लिबिया जान लागेको मिसनको फ्लाइट नै स्थगित गरिएको नेपाली सेनाले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ।
योसँगै भदौ २९ गतेका लागि तय भएको लिबिया मिसन फ्लाइट स्थगित गरिएको हो। काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा मिसनका लागि तालिम पूरा गरी बसेका सेनाका जवानमा कोरोना संक्रमण पुष्टि भएको हो। यद्यपि कति जना जवानमा कोरोना संक्रमण भएको हो भन्ने चाहिँ सेनाले खुलाएको छैन।
उनीहरू सबैको कन्ट्याक्ट ट्रेसिङ गरी पुनः परीक्षण गरिने भएको छ। सबै जनाको कोरोना नेगेटिभ रिपोर्ट आएपछि पुनः अर्को फ्लाइटको व्यवस्था गरी त्यसतर्फ मिसन पठाइने सेनाले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।