काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् सांसद नारायणकाजी श्रेष्ठको सचिवालयले कोभिड-१९ प्रभावितलाई सघाउन स्वयंसेवा समिति गठन गरेको छ। उक्त समितिले कोभिड उपचारसम्बन्धी प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गर्नुका साथै मनोसामाजिक परामर्श सेवा पनि दिने बताइएको छ।
सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रमणबाट समाजलाई बचाउन योगदान दिने उद्देश्यले उक्त काम सुरु गर्न लागिएको श्रेष्ठको सचिवालयको भनाइ छ।
'सरकारले आफ्नो कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन ध्यान दिनुपर्ने आवश्यकता आफ्नो ठाँउमा छ, तर सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रणबाट समाजलाई बचाउन हामी सबलै आ–आफ्नो ठाउँबाट योगदान गर्नु जरुरी छ', सचिवालयको भनाइ छ, 'त्यसमा पनि श्रमिक, गरीब र असहाय समुदाय सबैकोणबाट पीडादायी अबस्थामा छ र त्यो समुदाय केन्द्रित सहयोगमा स्वयंसेवी हात बढाउनु आजको आवश्यकता हो।'
स्वयंसेवी क्रियाकलापहरुमा कोभिड उपचार सम्बन्धि प्रकिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग; मनोसामाजिक परामर्श; आपतकालिन स्वास्थ्य परामर्श; आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तीमा समन्वय तथा सहयोग तथा कोभिड–१९ बारे सचेतना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।