काठमाडौं- जनता समाजवादी पार्टीले रेशम चौधरीलाई रिहाइ गर्न माग गरेको छ।
'हाल जेलमा राखिएका जसपा, नेपालका रेशम चौधरी लगायतका नेता/कार्यकर्ताहरूमाथि सरकारले लगाएका मुद्दा खारेज गरी रेशम चौधरीलाई यथाशीघ्र रिहाइ गरिनुपर्दछ', उपेन्द्र यादव र महन्थ ठाकुरद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ।
टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई चौधरी अहिले जेलमा छन्।
जनआन्दोलन, सशस्त्र विद्रोह/जनयुद्ध तथा ऐतिहासिक मधेस जनविद्रोह र थरूहट आन्दोलन लगायतका विगतमा भएका संघर्ष र बलिदानीकै परिणाम स्वरूप मुलुकमा अहिले राजनीतिक परिवर्तन भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जसपाले स्मरण गराएको छ।
'तर उक्त आन्दोलनहरू खासगरी मधेस/थरूहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्ताहरूमाथि सरकारद्वारा मुद्दा चलाउने, सम्पत्ति रोका गर्ने थुनामा राख्ने कार्य अझैसम्म जारी नै रहिरहेको छ', विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।