भैरहवा– नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट (नाटा) प्रदेश ५ कमिटीले लुम्बिनीसँग पाल्पाको रानीमहललाई जोडेर पर्यटन सम्बन्धी योजना ल्याउन प्रदेश सरकारसँग माग गरेको छ।
पाल्पामा सम्पन्न ‘पाल्पाको पर्यटन प्रवद्र्धन सम्बन्धी छलफल कार्यक्रम’ मार्फत नाटाले यस्तो माग गरेको हो। कार्यक्रमपछि आयोजित छलफलमा पाल्पा–२ का प्रतिनिधिसभाका सांसद तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पर्यटन उद्योग नै नेपाल विकासको मूल आधार भएको बताए।
मन्त्री पाण्डेले पाल्पाका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक पर्यटकीय स्थलको संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन उद्योग मार्फत जिल्लाको मात्रै होइन समग्र प्रदेशकै मुहार फेर्न सकिने बताए।
सो अवसरमा प्रदेशसभा सदस्य नारायण आचार्यले पाल्पा सांस्कृतिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण जिल्ला भएकाले यसको प्रचारप्रसार गरेर पर्यटन अभिवृद्धि गर्न सकिने विश्वाव व्यक्त गरे। अर्का सांसद डा पुरनमान बज्रचार्यले लुम्बिनीसँग पाल्पाको पर्यटकीय स्थललाई जोडेर अगाडि बढ्न नाटालाई आग्रह गरे। तानसेन नगरपालिकाका मेयर अशोक शाहीले तानसेन र लुम्बिनीको पर्यावरणीय विविधताले यस क्षेत्रलाई समृद्ध बनाएको बताए।
कार्यक्रममा आयोजक संस्थाका विष्णुप्रसाद शर्माले पर्यटन व्यवसायीहरुको योजनाअनुसार राज्यका अंगहरु चले मुलुक छिट्टै समृद्ध हुने दाबी गरे।
कार्यक्रममा पाल्पा दरबारलाई प्रदेश ५ स्तरीय संग्राहलय बनाउनु पर्ने, पाल्पाको ६ हजार वर्ष पुरानो ऋषिश्वर महादेवबारे भारतीय तीर्थालुमाझ प्रचारप्रसार गर्नुपर्ने, शालीग्राम पाइने कालीगण्डकी नदीमा पर्यापर्यटनका कार्यक्रम आयोजना गर्नुपर्ने विषय उठाइएको थियो। यस्तै, श्रीनगरको मनोरम दृश्यहरुको बजारीकरण गरिनुपर्ने, पर्यटन व्यवसायीहरुको क्षमता अभिवृद्धि र पर्यटक गाइड तालिम आयोजना गर्नुपर्ने, पाल्पाको भैरवस्थान, रानीमहल, रम्भादेवी, बगनासकाली आदिको पर्यटकीय प्रवद्र्धन हुनुपर्नेबारे छलफल भएको थियो।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन आचार्य, गेटअप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठ, होमस्टे एसोेसिएसनका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल, नाटा पाल्पा च्याप्टरका अध्यक्ष प्रदीप उदय लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, पर्यटन व्यवसायीहरुको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।