काठमाडौं- विश्व अर्थतन्त्र सुधार नभएसम्म सुनको भाउमाथि नै रहने विश्लेषण गरिएको छ। जति धेरै अर्थतन्त्रमा चुनौतीहरु थपिदै जान्छन्, सुनले नयाँ नयाँ रेकर्ड बनाइरहन्छ। अर्थतन्त्रमा सुधार नदेखुन्जेल सुनका लगानीकर्ता सुरक्षित रहने विश्लेषकहरु बताउछन्।
अमेरिकी अर्थतन्त्र कमजोर हुँदै गर्दा डलरको भाउ पनि कमजोर हुँदै गएको छ। डलर र शेयर बजार कमजोर हुँदा यसको प्रत्यक्ष फाइदा सुनमा पर्ने गर्छ। अर्थतन्त्र कमजोर हुँदा लगानीकर्ताले सुरक्षित लगानीको रुपमा सुनलाई रोज्ने गर्छन्।
कोभिड १९ का कारण विश्वकै जनजीवन प्रभावित भइरहेको छ। अमेरिका युरोपका मानिसहरुले रोजगार गुमाइरहेका छन्। बेरोजगार भत्ताको माग बढिरहेको छ। यसले अर्थतन्त्र थप कमजोर बन्दै गएको संकेत गर्छ।
कोभिड १९ को प्रभावले यसअगाडि सुनको भाउ इतिहासकै सबैभन्दा धेरै प्रतिऔन्स २०६९ डलर पुगेको थियो। अधिकतम पुगेर प्रतिऔन्स १९०९ डरमा झरे पनि त्यसयता पुनः सुधार हुने क्रममा पछिल्लो कारोबार प्रतिऔन्स १९४० डलरमा भएको छ।
केही समयदेखि घट्दो क्रममा रहेको सुनको भाउ पुनः बाउन्स ब्याक हुने विश्लेषण गर्न थालिएको छ। डलर दिनदिनै कमजोर हुँदै गर्दा सुनको भाउ बाउन्स हुने सम्भावना बढ्दै गएको हो। आगामी सातामा सुनको मूल्य बाउन्स हुने र केही नयाँ रेकर्ड बनाउन सक्ने सम्भावना रहेको विश्लेषकहरु बताउछन्।
नेपालमा सुनको भाउ
नेपालमा सुनको भाउ अन्तर्राष्ट्रिय बजार अनुसार तय हुन्छ। शुक्रबार सुनचाँदी व्यवसायी महांसघले प्रतितोला ९६ हजार ५०० रुपैयाँ मूल्य तोकेको छ। नेपालमा पनि यसअगाडि सबैभन्दा धेरै एक लाख तीन हजार रुपैयाँ नाघेको थियो।
मूल्य धेरै हुँदा कारोबार भने धेरै नै न्युन छ। लकडाउनका कारण सुन पसल खुल्न सकेका छैनन्। सिजनको समयमा पनि सुनको कारोबार नहुँदा व्यवसायीहरु मर्कामा छन्। कमोडिटी एक्सचेन्ज नहुँदा नेपालमा सुनको भौतिक कारोबार मात्रै हुन्छ। यसले गर्दा शेयर बजारको जस्तो सुनको ट्रेडर छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।