काठमाडौं–नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने विषय प्रधानमन्त्री केपी ओलीको तजबिजीमा निर्भर हुने एक स्थायी कमिटी सदस्यले बताएका छन्।
प्रधानमन्त्रीनिकट ती सदस्यले गौतमलाई सिफारिस गर्न पार्टीका कुनै पनि कमिटीले निर्णय गरिरहन नपर्ने दाबी पनि गरे। शुक्रबार स्थायी कमिटी बैठक सकिएलगत्तै गौतमको सिफारिसका सम्बन्धमा प्रश्न उठेपछि उनले पार्टी कमिटीले निर्णय गरिरहन नपर्ने बताएका हुन्।
‘यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्रीज्यूले राष्ट्रिय सभामा रिक्त रहेको एउटा कोटा धेरै दिन अनिर्णित भयो, अब त्यो रिक्त स्थानमा वामदेव कमरेडलाई सिफारिस गर्ने सोचेको छुमात्रै भन्नुभएकाे थियो। सचिवालयले त्यतिबेला निर्णय गरेको पनि होइन,’ ती स्थायी कमिटी सदस्यले भने, ‘तर, सचिवालय बैठकपछि प्रवक्ताले वामदेव कमरेडलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय भनिदिनु भएछ। खै उहाँले कसरी त्यो भन्नु भयो, पार्टी कमिटीले निर्णय गरेको होइन।’
प्रधानमन्त्रीले राष्ट्रिय सभामा रिक्त रहेका एक सदस्यको सिफारिस उपयुक्त समयमा गर्ने पनि उनले बताए। तर, अर्थमन्त्री डा युवराज खतिवडा पुनः नियूक्त भएर आउने सम्भावना भने नरहेको ती स्थायी कमिटी सदस्यले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।