काठमाडौं– नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको नाममा सहमति नभन्नुको अर्थ स्वाभाविक भएको बताएका छन्।
देउवाको नाममा बाहेक सहमति खोज्न सकिने उनकोे अभिव्यक्ति भए अन्य व्यक्ति सभापतिमा चयन गर्ने अग्रसरता निधिले लिनुपर्नेमा उनले जोड दिएका छन्। ट्वीटरमा रिजालले लेखेका छन्, ‘निधिले देउवा नभनी सहमति भन्नुले सहमति देउवामा होइन भन्ने अर्थ स्वाभाविक हो। त्यसो भए पौडेल (रामचन्द्र) वा अन्य जसमा सम्भव छ, उसैको नेतृत्वमा सहमति जुटाउन निधिले निष्ठापूर्वक अग्रसरता लिनुपर्छ।’
सहमति बनाउने प्रयासमा निधि नलागे देउवाभन्दा पृथक आफ्नो उम्मेदवारी दिने दिशामा निधि भएको रुपमा बुझ्न सकिने उनले बताए।
सार्वजनिक रुपमा उम्मेदवारीको कुरा नगरे पनि उपसभापति निधि भावी सभापतिको आकांक्षी देखिएका छन्। सार्वजनिक कार्यक्रममा भने निधिले सर्वसहमतिमा सभापतिको उम्मेदवार चयन गर्नुपर्ने प्रस्ताव अघि सार्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।