काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशमा भ्रष्टाचार व्याप्त हुँदै गएको बताउँदै कमिसन कानून बनाउनुपर्ने मत राखेका छन्। स्थायी कमिटीमा आफ्नो धारणा राख्दै खनालले भ्रष्टाचार पूर्ण रुपमा निर्मूल पार्न कमिसन कानून बनाएर तह लगाउनुपर्ने बताए।
‘भ्रष्टाचारका विरुद्ध पञ्चायतविरुद्धको संघर्षमा दिलो ज्यान फालेर संघर्ष गरियो। बहुदल आएपछि भ्रष्टाचार उस्तै भयो’ खनालले भने, ‘त्यो ०६२/०६३ सालको जनक्रान्तिपछि भ्रष्टाचार झन् मौलाउँदै पञ्चायतलाई समेत माथ खुवाउनेगरी भ्रष्टाचार भयो। अब चुप लागेर बस्न सकिँदैन। भ्रष्टाचार, घुसखोरी, बिचौलियाविरुद्ध कमिसन कानून बनाएर निर्मूल पार्नुपर्छ।’
नेकपा सरकारले भ्रष्टाचार निर्मुल गर्न नसके त्यसैले नेकपालाई सक्ने खनालले चेतावनी दिए। ‘कोरोना महामारीमा समेत भ्रष्टाचार उस्तै छ। पार्टी नेता मन्त्रीकहाँ जताततै भ्रष्टाचारी र विचौलियाको बिगबिगी छ’ खनालले भने, ‘कम्युनिस्ट पार्टी र आन्दोलनलाई चीर स्थायी बनाउन भ्रष्टाचारलाई तह लगाउनुपर्छ।’
भ्रष्टचारी बिचौलिया सरकारलाई रिझाएर आर्थिक अनियमितता गर्न राजनीतिक नियुक्तिमा समेत हावी हुँदै गएको भन्दै खनालले आक्रोस पोखे। भ्रष्टाचारी विचौलियले मन्त्री फाल्नेमात्रै नभई पार्टी फोर्ने/जुटाउने समेत ल्याकत राख्ने गरेको भन्दै नेकपा नेताहरुले लामो समयदेखि विरोध गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।