बारा- बाराका पत्रकार वीरेन्द्र साहको अपहरणपछि हत्यामा संलग्न भनिएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। १३ वर्षदेखि फरार रहेका हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
कुर्मीलाई भदौ २५ गते दिउँसो १४:३० बजे कोल्हवी नगरपालिका-४ सपही टोलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। बारा जिल्लाको विभिन्न स्थानमा लुकिछिपी बसेको सूचना बारा प्रहरीले पाएको थियो। उनलाई बारा जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।
बाराको महागढीमाई नपा-२ तेलकुवा टोलका कुर्मीसमेतको संलग्नतामा १३ वर्ष अघि २०६४ असोज १८ गते पत्रकार साहको हत्या भएको थियो। पत्रकार साह अपहरणमा परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले उनको खोजी गरेका थिए। एक महिनासम्म खोजी गर्दा पनि साहको अवस्थामा पत्ता नलागेपछि ‘ब्ल्याकी’ नामको कुकरले परिचालन गरेको दुई दिनमा उनको शव भेटाएको थियो। ब्ल्याकीले मृतक साहको शव बाराको साविक डुमरवाना गाविस-७ स्थित जंगलमा खाल्टो खनी गाडेको अवस्थामा २०६४ कार्तिक २२ गते फेला पारेको थियो।
पत्रकार साहको हत्यामा कुर्मीसहित कुन्दन फौजदार भन्ने नरेन्द्र कुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरीसमेतका ५ जना व्यक्ति संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। उनीहरूले साहलाई अपरहण गरी गोली हानी हत्या गरेका थिए।
अभियुक्तमध्ये कुर्मी फरार थिए। अपहरण र हत्यामा संलग्न प्रतिवादीमध्ये बाराको साविक ईनर्वासिरा गाविस-९ का मनेजर गिरीलाई २०६५ असोज १९ गते र राम एकवाल सहनीलाई मिति २०६५ पुस २१ गते पक्राउ गरिएको थियो। उनीहरुला सर्वस्वसहित जन्मकैद हुने फैसला बारा अदालतले गरिसकेकाले हाल कैद भुक्तान गरिरहेका छन्।
यस्तै २०७६ फागुन २५ गते पक्राउ परेका कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदारलाई २०७६ फागुन २९ गते अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। कुर्मीका हकमा भने मुद्दा मुल्तबीमा राखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।