काठमाडौं- युरोपियन युनियनका लागि प्रस्तावित राजदूत गहेन्द्रराज राजभण्डारी सो पदमा कार्य गर्न अयोग्य भन्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ। राजभण्डारीमाथि परेको एक उजुरीमा निवेदकले थप प्रमाणहरु संकलन र अध्ययन गरी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न समेत माग गरेका छन्।
राजभण्डारीमाथि नियम विपरीत बाबुआमाको उपचार खर्चको शोधभर्ना लिएको उजुरीमा उल्लेख छ। ‘परराष्ट्रको विदेशस्थित कूटनीतिक नियोगमा कार्य गर्ने कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी निर्देशिकामा विदेशमा लगेर आफूले पालनपोषण गर्नुपर्ने आफूसँगै रहेका बाबु वा आमामध्ये एक जनाको मात्र औषधि उपचारको खर्च नेपाल सरकारले व्यहोर्ने कुरा स्पष्ट रहेको छ। तर यसको विपरित निज राजभण्डारी नेपाली दूतावास मस्को तथा जापान दुईवटै नियोगहरुमा बस्दा खेरी बुबा र आमा दुवै जनाको सरकारी खर्चमा बिमा गरेको एवं औषधी उपचारको रकम राजदूतावासबाटै तिरेको तथा बिमाले सोधभर्ना दिएको रकम पनि लिने र बिमाले नव्यहोरेको भनेर नियोगबाट पनि औषधी उपचारको रकम सोधभर्ना लिने गरेको सो समयमा सोही नियोगमा कार्यरत कर्मचारीहरुले मन्त्रालयमा, महालेखामा र अख्तियारमा मौखिक तथा इमेल मार्फत उजुरी गर्दा समेत कुनै सुनुवाई भएको छैन’, उजुरीमा भनिएको छ।
‘राजभण्डारी नेपाली राजदूतावास जापानमा उपनियोग प्रमुख वा काउन्सेलरको पदमा कार्यरत रहेको समयमा लोक सेवाको समावेशी परीक्षाको प्रतिस्पर्धामा सहसचिव पदमा सफल भई नेपाल आएका र सह सचिव पदको नियुक्ति लिई पुनः जापान नै फर्किई उप सचिव अर्थात काउन्सेलरको पुरानै पदमा रहेर उपसचिव पदक तलव र वैदेशिक भत्ता करिब नेपाली रुपैयाँ ४ लाख प्रति महिना बुझेर करिव ६/७ महिना पश्चात मात्र नेपाल फर्किएका थिए’, उजुरीमा भनिएको छ।
सहसचिवको नियुक्ती बुझिसेकेर सो पदको दरबन्दी नै नभएको नियोगमा उपसचिवको पदमा बसेर गैर कानूनीरुपमा तलब, वैदेशिक भत्ता, पारिवारिक भत्ता, औषधोपचार लगायतका तमाम सुविधा ६/७ महिनासम्म बुझ्न निजामती सेवा ऐन, २०४९ को परिच्छेद ७ को निजामति कर्मचारीको आचारण विपरितको कार्य र दफा २७ को निजामती कर्मचारीले आफ्नो पदमा वहाल रहेको अवधिको तलब भत्ता पाउने व्यवस्था विपरित देखिएको तथा भ्रष्टाचार निवारण ऐन, २०५९ आकर्षित हने देखिएको हुँदा सो अनुसार उनलाई कारबाहीको माग गरिएको छ।
संसदीय सुनुवाइको बैठकमा भने राजभण्डारीले खण्डन गरेका छन्। ‘उजुरी हेर्दा छक्क परेको छु। चकित छु। मेरो प्रगतिको इर्ष्या गरेको जस्तो लाग्यो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।