काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुको भड्किलो जीवनशैलीका विषयमा बेला–बेलामा प्रश्न उठ्ने गरेको छ। यसलाई मध्यनजर गर्दै पार्टीका नेकपा नेता र कार्यकर्तालाई पारदर्शी र प्रश्न उठ्दा जवाफ दिन सक्ने जीवनशैली अपनाउन निर्देशन दिइने भएको छ। शुक्रबार बस्ने स्थायी कमिटी बैठकले यस्तो निर्णय गर्ने भएको हो।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारेको प्रस्तावमा यस्तो उल्लेख गरिएको छ। कार्यशैली र जीवनशैलीका विषयमा विगतमा तयार पारिएको आचारसंहिता लागू नभएको उल्लेख गर्दै प्रस्तावमा भनिएको छ, ‘सबैलाई, विशेषतः जिम्मेवार कमरेडहरुलाई पारदर्शी र जवाफदेही जीवनशैली अपनाउन र आफ्नो आचरण तथा कामप्रति जवाफदेही हुन निर्देशित गर्दछ।’
पार्टीमा गुटबन्दी तथा अनुशासनहीनता अन्त्य गर्न, विधि तथा पद्धती स्थापित गर्न र नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरुको कार्यशैली र जीवनशैलीलाई मार्गदर्शन गर्न विगतमा तय गरिएको आचारसंहितालाई परिमार्जन गरी कडाइका साथ लागू गर्ने निर्णय गर्ने तयारी पनि गरिएको छ।
सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप गर्न रोक
नेकपामा अन्तरविरोध चर्किदै गर्दा गुटका आधारमा नेकपा नेता कार्यकर्ता सामाजिक सञ्जालबाट समर्थन र विरोध गर्ने गर्छन्। यसैगरी पार्टी कमिटीले गरेको निर्णयमा चित्त नबुझ्दा पनि सामाजिक सञ्जालमार्फत् रोष प्रकट गरिरहेका हुन्छन्। स्थायी कमिटीको आगामी बैठकले यो प्रवृत्तिमाथि पनि रोक लगाउने तयारी गरेको छ। भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्नेर पार्टी हितविपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्बद्ध सबैलाई निर्देशित गर्दछ।’
समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिदै गएको गुटवन्दीको असरलाई विधि, पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने भनिएको छ। सबै प्रकारका अनेकता, अराजकता, अनुशासनहीनता एवं गुटवन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णयसमेत स्थायी कमिटीले गर्दैछ।
पार्टी होइन, व्यक्तिगत हितमा लाग्दा कटुता सिर्जना
यसैगरी प्रस्तावमा व्यक्तिगत हितलाई पार्टी हित मातहत राख्न नसक्दा अन्तरविरोध देखा पर्दै, हुर्किदै र कटुतापूर्ण बन्दै गएको स्वीकारिएको छ। ‘नेकपाको शक्ति र सामथ्र्यलाई ठीक ढंगले बुझ्न र व्यक्तिगत हितलाई पार्टी हितको मातहत राख्न नसक्दा अन्तरविरोध देखापर्दै, हुर्किदै र कटुतापूर्ण बन्दैगयो,’ प्रस्तावमा उल्लेख छ।
संस्थागत प्रणाली र वैधानिक व्यवस्थालाई चुनौती दिने प्रवृत्ति झाँगिदै जाँदा पद्धतीहिनता, गुटवन्दी, अराजकता र अनुशासनहिनता फैलिँदै गएको ठम्याइ छ। यसमा नेतृत्व तहबाट समेत गम्भीर प्रकृतिका गल्ति, कमजोरीहरु हुन पुगेको स्वीकारिएको छ। पार्टीभित्र उत्पन्न अन्तरविरोधहरु ठीक किसिमले समाधान गर्न नसक्दा संस्थागत प्रबन्ध उल्लंघन हुँदै गएर आन्तरिक एकता कमजोर भएको अध्यक्षद्वयको निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।