काठमाडौं- मूल्य अभिवृद्धि कर (भ्याट) र अन्त:शुल्क बुझाउने म्याद थप नहुने भएको छ। निशेषाधाज्ञा र लकडाउनका कारण व्यवसायिक गतिविधि नभएको र कर बुझाउनसमेत कठिन अवस्था रहेको भन्दै कारोबार विवरण तथा कर बुझाउने समय थप गर्नुपर्ने व्यवसायीको माग भए पनि सरकारले म्याद थप नगर्ने भएको हो।
व्यवसायीले अन्त:शुल्क र मूल्य अभिवृद्धि कर रकम आफैँले हिसाब गरी प्रत्येक महिना समाप्त भएको २५ दिन भित्र (अर्को महिनाको २५ गतेसम्म)मा बुझाउनुपर्छ। यसअनुसार साउनको मूल्य अभिवृद्धि कर र अन्त:शुल्क विहीबारसम्ममा बुझाउनुपर्नेछ।
आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोदबहादुर कुँवरले यससम्बन्धी कुनै तयारी नभएको बताए। 'अहिलेसम्म यस विषयमा कुनै तयारी भएको छैन,' कुँवरले भने। भदौ ३ गतेदेखि काठमाडौं उपत्यकासहित अन्य जिल्लामा निशेधाज्ञा लगाइएको र कतिपय स्थानीय तह र जिल्लाले लकडाउन नै गरिरहेकाले भदौ २५ गते कर तिर्नुपर्ने म्याद थप गर्नुपर्ने व्यवसायीको माग छ।
यसअघि चैतदेखि लकडाउन हुँदा कारोबार विवरण तथा राजस्व बुझाउने म्याद थप गरिएको थियो। त्यतिबेला मन्त्रिपरिषदबाटै निर्णय गरेर म्याद थप गरिएको थियो। लकडाउनकै कारण व्यवसायीलाई समस्या परेको भन्दै अन्त:शुल्क नवीकरणको म्याद पनि दुई महिना थपिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।