काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनापछि नेपालमा मानसिक स्वास्थ्य अवस्था बारे बुझ्न मनोचिकित्सकसँग छलफल गरेका छन्। कोरोनाको महामारीपछि नेपालमा देखिएको मानसिक स्वास्थ्य समस्या र के कसरी कम गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री ओलीले मनोचिकित्सकसँग बालुवाटारमा छललफ गरेका हुन्।
कोरोना संक्रमण र लामो समयसम्मको बन्दाबन्दीले नागरिकहरू मानसिक रूपमा कमजोर भएको भेटमा सहभागी अधिकांश चिकित्सकहरूले बताएका थिए। मानसिक स्वास्थ्यलाई सरकारले खासै प्राथमिकतामा नराखेको बताउँदै बेलैमा यसतर्फ ध्यान जान नसके यो समस्याले झन् विकराल रूप लिने धारणा आफूहरूले राखेको छलफलमा सहभागी मनोचिकित्सक डा रितेश थापाले बताए। प्रत्येक प्रदेशमा मानसिक अस्पताल हुनुपर्ने धारणा समेत आफूले प्रधानमन्त्रीसमक्ष राखेको उनको भनाइ छ।
छलफलमा आफूहरुले राष्ट्रिय स्वास्थ्य नीति पारित गर्नुपर्ने विषय समेत उठाएको उनले जानकारी दिए। करिब १ घण्टा भएको छलफलमा चिकित्सकहरुले मनोत्रास कम गर्न सके मात्र मानसिक समस्या न्यूनीकरण गर्न सकिने बताएका थिए।
छलफलमा मनोचिकित्सक संघ नेपालका अध्यक्ष डा सुदर्शन प्रधान, सह सचिव डा मीना राई, सदस्य सगुन पन्त, त्रिवि शिक्षण अस्पतालका डा. सरोज ओझा, पाटन अस्पतालका डा अनन्त अधिकारीलगायत सहभागी भएका थिए।
देशभर हाल करिब २ सय मनोचिकित्सक भएपनि ११ जना मनोचिकित्सक मात्र सरकारी दरबन्दीमा छन्। त्यसमा पनि ६ जना मनोचिकित्सक काठमाडौं उपत्यकामा मात्र छन्।
छलफलमा प्रधानमन्त्री ओलीले सरकार नागरिकको मानसिक स्वास्थ्यप्रति गम्भीर रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।