काठमाडौं- बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत 'सिइओ'ले राजीनामा दिए तुरुन्तै नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने भएको छ। त्यस्तै बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई बर्खास्त गरेमा पनि सोको जानकारी नेपाल राष्ट्र बैंकलाई तुरुन्तै दिनु पर्ने व्यवस्था गरिएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७७ को दोस्रो संशोधन गर्ने क्रममा सो व्यवस्था थप गरेको हो। यस अगाडि बैंक तथा वित्तीय संस्थाले कार्यकारी प्रमुखको नियुक्ति गर्दा र सञ्चालक समितिमा हेरफेर हुँदा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागलाई तुरुन्तै जानकारी दिनु पर्ने व्यवस्था थियो।
संशोधन पछि भने 'बैंक तथा वित्तीय संस्थाले कार्यकारी प्रमुखको नियुक्ति गरेमा, कार्यकारी प्रमुखले राजीनामा दिएमा, बर्खास्त भएमा वा अन्य कुनै कारणले पदमुक्त हुँदा र सञ्चालक समितिमा हेरफेर हुँदा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागलाई तुरुन्तै जानकारी दिनु पर्नेछ' भनी उल्लेख छ।
सनराइज बैंकका कार्यकारी प्रमुख र सञ्चालक समितिको विवाद नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो। सञ्चालक समितिले सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बर्खास्त गर्न खोजेपछि सोको विवाद नेपाल राष्ट्र बैंकले मिलाएको थियो। यसरी हुन सक्ने विवादको सूचना पाउन नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा नै यस्तो व्यवस्था गरेको हो।
एकीकृत निर्देशन संशोसन गर्ने क्रममा बैंकको नायब कार्यकारी प्रमुखलाई बढुवा वा नयाँ पदपूर्ति गर्नु पर्दा बैंकको प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा उपसमिति बनाउनु पर्ने व्यवस्था गरिएको छ। यस अगाडि उक्त पदमा नियुक्त गर्दा प्रमुख कार्यकारी अधिकृतले सिफारिस गरे पुग्ने व्यवस्था थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।