काठमाडौं- काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले २ हजार ५ सयमा नै कोरोना भाइरसको पिसिआर परीक्षण गर्ने भएको छ। सरकारले तोकेको भन्दा १ हजार ९ सय रुपैयाँ कम शुल्कमै केएमसीले पिसिआर परीक्षण गर्ने जानकारी दिएको हो। यो राजधानीकै सबैभन्दा सस्तो दर भएको अस्पतालको भनाइ छ।
सरकारले कोरोनाको पिसिआर परीक्षणका लागि ४ हजार ४ सय तोकेको छ। तर, केएमसीले एकैपटकमा २० वटा स्वाब परीक्षण गराउने संघसस्थालाई २ हजार ४ सय ९९ को दरमा र सर्वसाधरणका लागि २ हजार ५ सय ९९ मा पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाइएको जनाएको छ।
यो शुल्क सोमबारबाटै लागू भएको केएमसीका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए। ‘अहिले देशभर नै कोरोना संक्रमण बढिरहेको छ। सरकारले पनि माग बमोजिम परीक्षणको दायरा बढाउन सकिरहेको छैन,’ डा.शर्माले भने, ‘कोरोनाको महामारी फैलिरहेको अवस्थामा न्यून शुल्कमा परीक्षण गरेर सहयोग पुर्याउन खोजेका हौं।’
केएमसीले गत साउन १ गतेबाट पिसिआर परीक्षण थालेको हो। त्यसयता हालसम्म करिब १ हजार २ सय जनाको पिसिआर परीक्षण गरिसकेको छ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा. शर्माले भदौ १५ गतेबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। त्यसयता एक साता नबित्दै डा. शर्माले पिसिआर शुल्क घटाउने निर्णय गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।