काठमाडौं-सरकारले चैत ११ गतेदेखि घोषणा गरेको लकडाउन र भदौ सुरुदेखिको निषेधाज्ञाको बीचमा खाद्यान्न र गेडागुडीको आयात बढ्दा तरकारी र फलफूलको घटेको छ। भन्सार विभागले तयार गरेको तथ्यांकअनुसार चैत ११ गतेदेखि भदौ १८ गतेसम्ममा ग्यास, पेट्रोल, डिजेल र तयारी औषधिको आयातसमेत घटेको छ।
विभागका अनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा यसपटक खाना पकाउने ग्यासको आयात ८.९१ प्रतिशतले घटेको छ। डिजेल र पेट्रोलको आयात क्रमश: ४०.९९ प्रतिशत र ४६.३९ प्रतिशतले घटेको छ।
यो अवधिमा खाद्यान्नको आयात ६२.४२ प्रतिशतले बढेको छ भने तरकारी आयात ७८.५७ प्रतिशतले घटेको छ। गेडागुडी र दलहनको आयात २४.६४ प्रतिशतले बढ्दा फलफूलको आयात ४६.१७ प्रतिशतले घटेको छ। यसैगरी दूग्धजन्य पदार्थको आयात पनि ६१.०६ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ।
यो अवधिमा औषधिको कच्चा पदार्थ र तयारी औषधिको आयात पनि घटेको विभागले जनाएको छ। औषधिको कच्चा पदार्थ ३१.१७ प्रतिशत र तयारी औषधिको आयात २२.७३ प्रतिशतले घटेको विभागको तथ्यांकमा उल्लेख छ।
लकडाउन र निषेधाज्ञासहितको अवधिमा ८ लाख ३७ हजार ९७७ मेट्रिक टन खाद्यान्न आयात भएको छ। यो अवधिमा १ लाख ४६ हजार ९९० मेट्रिक टन गेडागुडी आयात भएको पनि विभागले जनाएको छ। यसैगरी १ लाख ७७ हजार ६५७ मेट्रिक टन खाना पकाउने ग्यास र ४ लाख ८१ हजार ३८६ किलोलिटर डिजेल तथा १ लाख ४६ हजार किलोलिटर पेट्रोल आयात भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।