त्रिपुराकोट– हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ।
आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाइ प्रवेश इजाजत पत्र धमाधम वितरण सुरु गर्दै निकुञ्ज क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन प्रवेशका लागि खुला गरिने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ।
अघिल्लो वर्षमा जेठ पहिलो र दोस्रो साताबीचको अवधिमा प्रवेशका लागि खुला गरिएको भएपनि यस वर्ष भने सम्पूर्ण सरोकारवालाको सल्लाहअनुसार जेठ १ गतेदेखिनै पाटन प्रवेशका लागि खुला गरिने निर्णय भएको संरक्षण अधिकृत रामदेव चौधरीले बताए।
यार्सागुम्बा पाटन संकलन इजाजत पत्र वितरणका लागि निकुञ्ज र सम्बन्धित मध्यवर्ती क्षेत्रका कर्मचारीलाई विभिन्न नाकामा पठाउने तयारी भइरहेको समेत चौधरीले जानकारी दिए।
यार्सागुम्बा संकलनका लागि तीन प्रकारका संकलन इजाजत पत्र वितरण गरिने भएकाले मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि १ हजार, मध्यवर्ती क्षेत्र बाहिरका सर्वसाधारणका लागि २ हजार ५ सय र जिल्ला बाहिरका सर्वसाधारणका लागि ३ हजार ५ सय रकम तिर्नुपर्ने निकुञ्जले जनाएको छ।
डोल्पामा रहेका यार्सागुम्बा पाटनमा पुगेर यार्सागुम्बा संकलन गर्नका लागि रुकुम, जाजरकोट, सल्यानलगायतका विभिन्न जिल्लाबाट वर्षेनि दशौँ हजार सर्वसाधारण डोल्पा पुग्ने गर्दछन्।
यार्सागुम्बा पाटन खुला गरिएको एक महिने अवधिका लागि मात्रै प्रवेश संकलन इजाजत पत्र वितरण गरिनेसमेत निकुञ्जले जनाएको छ। बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पाली जनताको मुख्य आम्दानीको स्रोतको रहँदै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।