काठमाडौं- नेकपा उपाध्यक्ष वामदेव गौतमलाई केही दिनमै राष्ट्रिय सभामा सिफारिस गरिने भएको छ। प्रधानमन्त्री केपी ओलीले गौतमलार्ई वचन दिइसकेकाले ढिचोचाँडो सिफारिस गरिने ओली निकट एक स्थायी कमिटी सदस्यले बताए।
भदौ १८ गतेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्रीले गौतमलाई राष्ट्रिय सभामा पठाउने भनिसकेकाले त्यो निर्णयमा दायाँबायाँ नहुने ती नेताको भनाइ छ। ‘यसअघि प्रधानमन्त्रीज्यूले अर्थमन्त्री युवराज खतिवडालाई सिफारिस गर्ने भनेर राष्ट्रपतिकहाँ चिठ्ठी पठाइसक्नुभएको रहेछ। पछि वामदेव कमरेडले आफूलाई सिफारिस गर्न दबाब दिएपछि अर्को निर्णय गर्नुपर्ने भयो’, उनले भने, ‘प्रधानमन्त्रीज्यूले वामदेव कमरेडलाई सिफारिस गर्छु भनिसक्नु भएको छ। फेरि उहाँ(वामदेव)लाई सिफारिस नगर्ने भन्ने हुँदैहुँदैन। अब छिट्टै वामदेव कमरेडको सिफारिस हुन्छ।’
यस्तै नेकपा वरिष्ठ नेता झलनाथ खनालले पनि सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरिसकेकाले आशंका गर्न नहुने बताए। ‘पार्टी कमिटीले निर्णय गरिसकेको छ। प्रधानमन्त्रीज्यूले सहमति जनाइसक्नुभएको छ। वामदेव कमरेडको सिफारिस नहुने भन्ने हुँदैहुँदैन’, उनले भने।
गौतमलाई शुक्रबार मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभामा सिफारिस गर्ने अपेक्षा गरिएको थियो। तर मन्त्रिपरिषद्को बैठकमा गौतमको विषय नै प्रवेश गरेको थिएन।
यसअघि गत फागुन १४ गतेको सचिवालय बैठकले पनि गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो। तर, प्रधानमन्त्रीले पार्टी निर्णयलाई बेवास्ता गरिदिएका थिए। यसपटक पनि त्यस्तै हुने हो वा घटनाक्रमले अर्कै मोड लिने हो कि भन्ने शंका गर्न थालिएको छ। यद्यपि, त्यतिबेला प्रधानमन्त्रीले युवराज खतिवडालाई राष्ट्रिय सभा सदस्य बनाउन चाहेका कारण गौतमको सम्बन्धमा गरिएको निर्णयलाई लागू गरेका थिएनन्। यसपटक भने खतिवडाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।