काठमाडौं–अमेरिकी डलर कमजोर हुँदा सुनको भाउ थप बढ्न सक्ने विश्लेषण गरिएको छ। कोभिड–१९ का कारण कमजोर बन्दै गएको डलरका कारण विश्वको अर्थतन्त्रमै असर पारिरहेको छ।
अमेरिकी अर्थतन्त्र कमजोर हुँदा डलर पनि कमजोर हुन्छ। जसले गर्दा सुनको भाउ बढ्ने गरेको छ। कोभिड–१९ का कारण धेरै अमेरिकीले रोजगार गुमाउनु परिरहेको छ। रोजगार गुम्दै गर्दा बेरोजगार भत्ताको माग गर्नेको संख्या पनि बढिरहेको छ। तर अगष्टमा केही रोजगार सिर्जना हुँदा बढ्दो क्रममा रहेको सुनको भाउलाई रोक्न सकेको थियो।
सरकारले कुनै स्टिमुलस प्याकेज नल्याइसकेको र अर्थतन्त्र कमजोर भएकाले सुनको भाउ अझै बढ्न सक्ने विश्लेषण गरिएको छ। तर सरकारले कुनै पनि बेला स्टिमुलस प्याकेज ल्याउने र रोजगारी सिर्जना हुन सक्ने अर्को सम्भावनाका कारण सुनमा अहिले गरिएको लगानी केही जोखिममा पर्न सक्ने अर्को विश्लेषण पनि रहेको छ।
पछिल्लो समयको ‘मुद्रा युद्ध’ ले गर्दा युरो बुलिस ट्रेण्डमा छ भने अमेरिकी डलर घट्दो क्रममा छ। लगानीकर्ताले अझै पनि सुनमा गरिएको लगानीलाई सुरक्षित मानिरहेका छन्। डलरको भाउ घट्दै गर्दा अमेरिकी अर्थतन्त्र कमजोर हुने र अन्य लगानीका अवसर पनि खुम्चिँदै जाने भएकाले लगानीकर्ताको ध्यान अझै पनि सुनमा नै पर्नेछ।
सुनको मूल्य अस्वाभाविक रुपमा बढ्दै गएपछि विज्ञहरुले सरकारी ऋणपत्रको दर बढाउन सुझाव दिएका छन्। ऋणपत्रको दर धेरै कम भएपछि लगानीकर्ताको ध्यान सुनमा थप केन्द्रित भएको हो।
अर्कोतर्फ सुनको भाउ धेरै माथि पुगिसकेको हुनाले कुनै पनि बेला सुधार हुने डरमा लगानीकर्ता छन्। यदि कोभिडको प्रभाव कम हुँदै गयो र अर्थतन्त्र केही सुधार हुने अवस्था आयो भने सुनको भाउ धेरै नै घट्न सक्नेछ। सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै प्रति औन्स २०७० डलरसम्म पुगेकोमा अहिले प्रति औन्स १९३३ डलरमा कारोबार भैरहेको छ।
नेपालमा पनि अहिलेसम्मकै धेरै प्रतितोला एक लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ घटेर प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको भाउ अस्वाभाविक रुपमा बढ्दा कारोबार भने खासै हुने गरेको छैन। सरकारले निषेधाज्ञा जारी गर्दा सुनचाँदी व्यवसायीले व्यापार गर्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।