काठमाडौं- देशका ६ जिल्लाका सबै कोरोना संक्रमित निको भएका छन्। ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगुका सबै संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ जना पुगेको छ।
हाल १८ हजार ४ सय १३ जना सक्रिय संक्रमित छन्। १० हजार ६७१ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय ४२ जना छन्।
१३ हजार ४ सय १३ जनाको आज पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ९१७ जना संक्रमणमुक्त भएका छन्। योसहित २४ हजार २०७ जना निको भएर घर फर्किएका छन्।
नेपालमा गत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो पटक मृत्यु पुष्टि हुनेमा संक्रमितमा ४ जना महिला र २ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो कूल संक्रमितको ०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।