काठमाडौं- काठमाडौं उपत्यकामा अब बिहान ११ बजेसम्म खाद्यान्न, फलफूल, तरकारीलगायत अत्यावश्यक सेवाका व्यवसाययहरु सञ्चालन गर्न पाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले एक साता निषेधाज्ञा बढाएसँगै यी सेवालाई खोल्ने समय बढाएका हुन्। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बुधबार रातिबाट लागू हुनेगरी यस्तो निर्णय गरेका हुन्।
यसअघि बिहान सवा ९ बजेसम्म मात्र यी व्यवशाय सञ्चालन गर्न पाइन्थ्यो। यसैगरी पिसिआर नेगेटिभ भएका व्यक्तिहरुबाट अनलाइन डेलिभरी सेवा दिन पनि खुला गरिएको छ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले संयुक्त रुपमा भदौ १७ गते रातिदेखि थप एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय लिएका छन्। सरकारले निषेधाज्ञाको नाममा अत्यावश्यकीय वस्तु खरिदका लागि निश्चित समय तोकेर भीड बढाएको भन्दै आलोचना भइरहेको थियो।
मानिसहरुको भीड एकैपटक जम्मा हुने भएकाले कोरोना संक्रमणको त्रास झन् धेरै रहेको उनीहरुको तर्क थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।