भक्तपुर- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति-सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउनेको जरै उखेल्ने बताएका छन्।
एक साताअघिको सांघातिक आक्रमणमा घाइते भई उपचार गराइरहेका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे अस्पताल पुगेर जानकारी लिँदै उनले यस्तो बताएका हुन्।
उनले भने, 'अहिले एउटा समूह देशमा शान्ति-सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउने कार्यमा सक्रिय हुन खोज्दैछ। हामी त्यसलाई जरैदेखि उखेल्छौं।'
नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेको पहिचान भइसकेको र केही नियन्त्रणमा पनि आइसकेको बताउँदै उनले आक्रमणकारी जो कोही भएपनि कारबाही गर्ने दृढता प्रकट गरे।
भेटलगत्तै अस्पताल कार्यकक्षमा सुरक्षा निकायसँग घटनाबारे उनले जानकारी लिएका थिए। उनले सिसी क्यामरामा कैद भएका आक्रमणका दृश्य समेत हेरेका थिए। भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी उपरीक्षक किरण राणाले घटनाबारे जानकारी दिँदै अनुसन्धानमा भएका प्रगतिबारे मन्त्री थापालाई अवगत गराएका थिए।
गृहमन्त्री थापाले अर्को सन्दर्भमा पार्टी एकीकरण कुनै हालतमा नरोकिने बताएका थिए। उनले जनताको चाहना दुवै पार्टी एक भएर जाने भएकाले जनचाहना अनुरुप नै एकीकरणको प्रक्रिया अघि बढेको बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।