चितवन- नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीभित्र किराहरु अब नअट्ने भन्दै तिनलाई निस्तेज पर्ने बताएका छन्। 'प्रहरी संगठनमा बसेका केही अनुशासनहीन किराहरु छन्। संगठनलाई बदनाम गराउने ती अब चाँडै हट्नेछन्,' उनले भने।
जिल्ला प्रहरी कार्यालय चितवनको आज निरीक्षण गर्दै महानिरीक्षक खनालले प्रहरीमा आचारण र व्यवहार राम्रो हुनुपर्ने बताए। प्रहरीभित्रका केहीले आपराधिक काम गरे भन्दैमा सिंगो प्रहरीले नै गरेको भनेर नबुझ्न पनि उनले आग्रह गरे।
अब नेपाल प्रहरी नागरिकमैत्री हुने भन्दै महानिरीक्षक खनालले अपराध नियन्त्रण गर्नु नै पहिलो प्रथामिकता हुने भनाइ राखे। प्रहरी ऐन र संघीय प्रहरी ऐन आइसकेपछि प्रहरी संरचना थप बजबुत बन्ने उनले दाबी गरे।
चितवनमा नै ३ नम्बर प्रदेश कार्यालय रहने संकेत गर्दै उनले रणनीति तयार, नियन्त्रण र अनुसन्धान प्रभावकारी बनाउन सम्पूर्ण युनिटलाई निर्देशन दिएको स्पष्ट पारे।
प्रहरीको दरबन्दी कम रहेको भन्दै उनले मौजुदालाई उच्चतम प्रयोग गरेर शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी जुटिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।