काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिको विषयलाई जोडर विभिन्न गलत र तथ्यहीन समाचार सम्प्रेषण भइरहेको बताएका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै घिसिङले आफू २०७३ भदौ २९ को मन्त्रिपरिषदको निर्णयबाट ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको र तोकिएको जिम्मेवारीअनुसार आफूले काम गरिरहेको पनि उल्लेख गरेका छन्।
'मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई जोडेर विगत केही दिनदेखि विभिन्न संचारमाध्यम, सामाजिक संजाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,' घिसिङले विज्ञप्तिमा भनेका छन्।
उनले आफ्नो पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जामन्त्री र आफूलाई जोडेर आधारहीन तथा गलत सूचना तथा समाचार सम्प्रेषण नगर्न पनि आग्रह गरेका छन्।
नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सरकारको मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत् यस अवधिमा केही उल्लेखनीय उपलब्धि हासिल भएको पनि उनले बताएका छन्।
उनले सबैको प्रयासबाट लोडसेडिङ अन्त्य भएको र त्यसमा प्रधानमन्त्री र ऊर्जामन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, कर्मचारी र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला रहेको पनि उल्लेख गरेका छन्। 'एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन,' घिसिङले भनेक छन्।
सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाइजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाइन आयोजनाको निर्माण गर्नेलगायतका नेपाल सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको पनि उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।