काठमाडौं-निषेधाज्ञापछि बजारमा तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको गुनासो आउन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन बढाएको छ।
मंगलबार विभागका महानिर्देशक र निर्देशकहरुको टोली आफैं तरकारीको अनुगमनमा निस्केको थियो। त्यस्तै बिहीबार विभागबाट १५ वटा अनुगमन टोली खटिएर दर्जनभन्दा बढी स्थानका ५० भन्दा बढी तरकारी पसलको अनुगमन गरेको छ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार विभागले तरकारीको खुद्रा बजार मूल्यको अध्ययन अनुगमन गरेको हो। ‘काठमाडौं उपत्यकाका लेले, बालकोट, कागेश्वरी मनहरा, जोरपाटी, महाराजगंज, बसुन्धारा, चाबहिल, कलंकी, कीर्तिपूर, कुसुन्ती, सामाखुसी, मुलपानीलगायत स्थानमा अनुगमन भयो। ती अनुगमनबाट मूल्यसूची संकलन गरेर आएका छौं। र त्यसको विश्लेषण गर्दैछौं।’आचार्यले भने।
बजारमा नियामक निकायको उपस्थिति नदेखिए मूल्य नियन्त्रण बाहिर जाने भन्दै अनुगमन बढाएको उनले बताए। अहिले विभागले व्यापारीलाई कारबाही गर्नेभन्दा पनि पहिलो चरणमा सचेत गराएर छाड्ने गरेको पनि उनको भनाइ छ।
अनुगमनका क्रममा उपत्यकाभित्र तरकारीको मूल्यमा धेरै भिन्नता नरहेको पाईएको छ। तराईलगायत जिल्लाबाट आएको तरकारी महंगो छ भने उपत्यका नजिकका जिल्लाबाट आएको तरकारी तुलनात्मक रुपमा सस्तो छ। त्यस्तै टनेल बाहिरको र टनेलभित्रको तरकारीको मूल्यमा पनि अन्तर देखिएको आचार्यले बताए। बिचौलियाका कारण वास्तविक किसानले आफ्नो उत्पादनको मुल्य नपाउने तर उपभोक्ताले चर्को मुल्य तिरेर किन्नुपर्ने अवस्था अहिले छ।
विचौलियालाई तह लगाउन सबै स्थानीय निकाय र नियामकको भूमिका रहने भए पनि आपसी समन्वय अभावमा किसानसँग सस्तोमा तरकारी किनेर उपभोक्तालाई दोब्बर महंगोमा बेच्ने व्यापारीहरु बढिरहेका छन। पछिल्लो समय वाणिज्य विभागले कालीमाटीलगायत अरु तरकारी बजारमा किसानको सहभागिताबारे अध्ययन गर्ने तयारी गरिरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।