काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तत्काल संयुक्त वक्तव्य दिनुपर्ने सुझाव दिएको छ। गत शनिबार अध्यक्षद्वयले बुझाइएको प्रतिवेदनको खण्ड २ मा तत्काल कार्यान्वयन गर्नुपर्ने सुझावहरु अन्तर्गत संयुक्त सम्बोधनको विषय उल्लेख गरिएको हो।
‘पार्टीमा जटिल र कठिन ठानिएको आन्तरिक अन्तरविरोध एवम् समस्या समाधानका निम्ति ठोस पहल हुनु सकारात्मक कुरा हो। यस प्रयासलाई संस्थागत ढंगले सार्थक निष्कर्षमा पुर्याउनुपर्दछ’, प्रतिवेदनमा उल्लेख छ, ‘यसका लागि अनुकूल स्थिति सिर्जना हुनेगरी अध्यक्षद्वयबाट तत्काल पार्टीका नेता, कार्यकर्ता, सदस्य, शुभेच्छुक र आम जनसमुदायमा पार्टी एकता जोगाउने, पार्टी र सरकारको भूमिकालाई अझ धेरै प्रभावकारी बनाउनेर नेपाली जनताले यस्पार्टीको काँधमा सुम्पिएको अभिभारा सफलतापूर्वक पूरा गर्दै अघि बढ्ने सन्देश प्रवाह हुनेगरी संयुक्त वक्तव्य जारी गर्ने ।‘
प्रतिवेदनले अध्यक्षद्वयको कार्यविभाजनलाई पनि सम्बोधन गरेको छ। ओलीले प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र मूलतः सरकारको काममा केन्द्रित हुने भनिएको छ। त्यस्तै, प्रचण्ड ले कार्यकारी अधिकार सहित मूलतः पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने भनिएको छ।
केन्द्रीय कमिटीको दोश्रो बैठकले तोकेकै समय आगामी चैत २५ देखि ३० मा महाधिवेशन गर्नुपर्ने प्रतिवेदनमा पनि भनिएको छ। ‘अब एकता–एकीकरणका बाँकी कामहरु सम्पन्न गर्दै महाधिवेशनको सफल आयोजनाको तयारी गर्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ।
साउन ३० गते गठन भएको ६ सदस्यीय कार्यदलले गत शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो।
यस्तो छ प्रतिवेदन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।