काठमाडौं- काठमाडौं महानगरपालिकामा आइतबारसम्म कोरोना सङ्क्रमितको संख्या १ हजार ६ सय २० पुगेको छ। यीमध्ये ३ सय ६९ जना होम आइसोलेसनमा छन् भने २७ जना सम्पर्कविहीन छन्। काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखा कोभिड-१९ फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार २ सय ३१ जना संक्रमणमुक्त भएका छन्। महानगरमा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।
ओलीका अनुसार वडाको सम्पर्कमा नआएका, नम्बर गलत टिपाएका संक्रमितहरू सम्पर्कविहीन भएका हुन्। तर उनीहरूको खोजी भइरहेको ओलीले जानकारी दिए। ‘केही सङ्क्रमित सम्पर्कविहीन हुनुभएको छ,’ ओलीले भने, ‘उहाँहरुको खोजी कार्य भइरहेको छ।’
संक्रमितमाथि सहरवासीको अमानवीय व्यवहार
महानगरले हालसम्म कुनै पनि आइसोलेसनको व्यवस्था गरेको छैन। आफ्नै आइसोलेसन नहुँदा सङ्क्रमित घरै बस्नै बाध्य भएका हुन्। काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलका अनुसार महानगरले आफैंले आइसोलेसन बनाउन नपाएकाले सङ्क्रमितलाई होम आइसोलेसनमा राख्ने विकल्प नभएको हो। ‘महानगरको आफ्नै आइसोलेसन छैन,’ डगोंलले भने, ‘लक्षण नदेखिएका र अवस्था सामान्य भएका सङ्क्रमितलाई होम आइसोलेसनमा राखिएको छ।’
सङ्क्रमित घरै बस्दा छिमेकीले अमानवीय व्यवहार गरेको आफूहरुलाई खबर आएको वडा नम्बर १४ की वडा अध्यक्ष शोभा सापकोटाले बताइन्। ‘कोरोना सङ्क्रमितलाई छिमेकीले छिछि र दुर्दुर गर्नु भएछ,’ सापकोटाले भनिन्, ‘मैले फोनै गरेर सचेत गराएँ। सामाजिक सञ्जालबाट पनि सचेत गराएकी छु। अहिले कम भएको छ।'
वडा नम्बर ७ का वडा अध्यक्ष शुद्ध डगोंलले समाज निर्दयी हुँदै गएको बताए। ‘हाम्रो समाज निर्दयी रहेछ। कोही सङ्क्रमित देख्यो भने माया हैन, त्यो टोललाई नै छिछि र दुर्दुर गरेको पाइयो,’ वडाध्यक्ष डगोंलले भने, ‘समाज निर्दयी भएको छ। कसरी सचेत गराउने सोचिरहेको छु।’ डगोंलका अनुसार कटुबहालमा लकडाउन खुलेपछि बाहिरबाट आएकाहरु बस्ने घरमा ५/६ सय स्थानीय जम्मा भएर घर घेर्न पुगेका थिए।
महानगरका जनप्रधिनिधिहरूका अनुसार स्वास्थ्यकर्मीहरूमाथि पनि दुर्व्यवहारका घटना भएका छन्। उनीहरूले संक्रमित र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेर आफूहरू पनि संक्रमित हुन सक्ने र आफूहरुको उपचारका लागि पनि स्वास्थ्यकर्मी चाहिने भन्ने कुरा चाँहि भुलेका छन्। शनिबार मात्र बानेश्वरका युवाले अस्पतालका स्वास्थ्यकर्मी आइसोलेसनमा बस्ने स्थानको बाहिर हुलहुज्जत गरेका थिए।
यस्तो छ महानगरमा संक्रमणको अवस्था
काठमाडौं १ का भरतलाल श्रेष्ठका अनुसार हालसम्म वडामा ४६ जना सङ्क्रमित भेटिएका छन्। होम आइसोलेसनमा सम्म ८ जना छन्। तर वडाको यो तथ्यांकमा नेपाल प्रहरीको हेडक्वार्टरमा संक्रमित भेटिएकाहरूलाई भने समावेश गरिएको छैन। होम आइसोलेसनमा बसेकाहरूलाई हेरविचार गरिरहेको उनको भनाइ छ।
काठमाडौं महानगरपालिका-१ मा
संक्रमित : ४६ जना
अस्पतालमा उपचाररत : २ जना
होम आइसोलेसन : ८ जना
निको भएका : ३६ जना
काठमाडौं महानगरपालिका-२ का वडाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार आइतबारसम्म सो वडामा १४ जना संक्रमित छन्। एकजना सम्पर्कमा छैनन् भने होम आइसोलेसनमा एक जना छन्। होम आइसोलेसनमा बसेकालाई वडाले नै हेरविचार गरिरहेको उनको भनाइ छ।
कामनपा- २
संक्रमित : १४ जना
होम आइसोलेसन : १ जना
सम्पर्कविहीन : १
पछिल्लो सयम वडाको तथ्याङ्क सुन्दै वडाबासी त्रसित हुन थालेको कामनपा ३ का वडाध्यक्ष दीपक केसीको भनाइ छ। वडामा १८ वटा अस्पताल छन्। धेरै जसो अस्पतालमा कार्यरत कर्मचारी र उपचारको लागि बाहिरबाट आउनेलाई कोरोना सङ्क्रमण धेरै देखिएको छ। अस्पतालको सबैको रेकर्ड राखिएको छ।
वडामा कोरोना सङ्क्रमितको संख्या १ सय १९ जना पुगेको छ। ३ जना यही समुदायकै हुन्। अरु अस्पतालमा कार्यररत कर्मचारी, प्रहरी, सेना र बाहिरबाट आएका बिरामी हुन्। अहिलेसम्म निको भएको २१ जना छन्। २६ जना होम आइसोलेसनमा छन् भने बाँकी अस्पतालमा छन्। 'हामीले कन्ट्याक्ट ट्रेसीङ गरिरहेका छौँ। होम आइसोलेसनमा बस्नुभएकाहरु कोही होटलमा र कोही भाडामा लिएर बसिरहनुभएको छ,' वडाध्यक्ष केसीले भने।
कामनपा ३
संक्रमित : ११९ जना
होम आइसोलेसन : २० जना
निको भएका : २१
कामनपा-४ का वडाध्यक्ष मोहन विष्टका अनुसार वडामा सङक्रमित ६५ छन्। थप १२ जनाको पनि पोजेटिभ देखिएको भन्ने कुरा आएको तर त्यसको औपचारिक तथ्याङक आउन बाँकी रहेको उनले बताए। १७ जना होम आइसोलेसनमा छन् भने वडाबासी एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
वडामा बसोबास गर्दै आएकाहरू सचेत नबन्दा संक्रमण थप फैलन मद्दत पुगेको उनको भनाइ छ। 'छेकेर छेक्न सक्ने अवस्था छैन। वडाले नसक्ने भइसक्यो। धेरै डाक्टर र नर्स सङ्क्रमित देखिनुभएको छ,' उनले भने, 'स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई अपिल गर्दछु।'
कामनपा ४
संक्रमित : ७७ जना
मृत्यु : १ जना
होम आइसोलेसन : १७जना
कामनपा ५ का वडाध्यक्ष रमेश डंगोलका अनुसार वडामा ५२ जना सङ्क्रमित छन्। होम आइसोलेसनमा २२ जना छन्। उनीहरुले विभिन्न संघ/संस्थामा काम गर्नेहरू भएको र वडाले स्थायी बसोबास गर्नेको मात्र तथ्यांक राखेको उनले बताए।
कामनपा ५
संक्रमित : ५२ जना
होमआइसोलेसन : २२ जना
कामनपा ६ का वडाध्यक्ष दीपेन्द्र लामाका अनुसार वडामा १९ जना संक्रमित छन्। यी मध्ये ९ जनालाई वडाको सम्पर्कमा होम आइसोलेसनमा राखिएको छ।
कामनपा : ६
संक्रमित : १९ जना
होमआइसोलेसन : ५ जना
कामनपा ७ का वडाध्यक्ष शुद्ध डंगोलका अनुसार वडामा ३१ जना संक्रमित भएको सरकारी तथ्यांक छ। त्यसमा निजीको जोडिएको छैन। निजीको पनि जोड्दा ८ जना अरु थप हुन्छ। होम आइसोलेसनमा १३ जना छन् भने बाँकी अस्पतालमा छन्।
समाज निर्दयी भएको उनले टिप्पणी गरे। कतिपय बिरामीहरु चेक गर्ने पोजेटिभ देखिए तथ्यांक नदिने गरेको उनको भनाइ छ। सामाजिक बहिस्कारको डरले तथ्यांक लुकाउने गरेको उनको अनुभव छ। लकडाउन खुलेपछि भाडामा बस्नेहरु आएपछि कुटुबहालमा ५/६ सय स्थानीय घर घेर्न पुगेको पुगेको उनको भनाइ छ। बाहिरबाट आएका मान्छेले कोरोना बोकेर ल्याए जसरी नै होहल्ला भएको उनको भनाइ छ। 'यस्तो निर्दयी रुप किन देखाएको हो बुझ्न सकेको छैन। समुदायले नै कसैलाइ कोरोना लागेको थाहा पाए आफै सिल गर्दै हिँडेका छन्। हाम्रो समाज त अराजक भएछ,' उनले भने।
कामनपा : ७
संक्रमित : ३१ जना
होम आइसोलेसन : १३ जना
कामनपा ८ का वडाध्यक्ष दिनेशकुमार डंगोलका अनुसार वडामा १० जना संक्रमित छन्। होम आइसोलेसन ३ जना छन् भने एक जना संक्रमितको मृत्यु भएको छ। बाँकी संक्रमित अन्य अस्पतालमा छन्।
कामनपा : ८
संक्रमित : १० जना
मृत्यु : १ जना
अस्पतालः ७ जना
होमआइसोलेसनः ३ जना
कामनपा ९ मा १४ जना कोरोना सङ्क्रमित भेटिएका छन्। होम आइसोलेसनमा २ जना छन् भने सबै संक्रमित वडाको सम्पर्कमा नै रहेको वडाध्यक्ष रामकुष्ण ज्युखे श्रेष्ठले बताए।
कामनपा- ९
संक्रमित -१४ जना
होम आइसोलेसन- २ जना
कामनपा १० मा ७६ जना कोरोना सङ्क्रमित छन्। यीमध्ये २५ जना होम आइसोलेसनमा रहेको र तीन जनाको मृत्यु भएको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए। बाँकी संङक्रमितलाई किर्तिपुर, पाटन र टेकु अस्पतालमा राखिएको छ। 'हामी आफैले पनि तीनवटा अस्पतालमा १८ सिटको आइसोलेसन बनाएका छौँ। ती आइसोलेसमा हाल कसैलाई पनि राखिएको छैन,' वडाध्य केसीले भने, 'इमरेजेन्सीमा राख्नका लागि त्यसो गरिएको हो।'
कामनपा १०
संक्रमित : ७६ जना
मृत्यु : ३ जना
होम आइसोलेसनः २५ जना
कामना ११ मा अहिलेसम्म वडामा ४५ जना संक्रमित भएका छन्। उनीहरूमध्ये नर्भिकमा ५ जना र थापाथलीमा ४ जना, त्रिपुरेश्वरका प्रहरी १४ जना, सुन्धारामा ६ जना, भोटेबहालमा ५ जना, भद्रकाली आर्मीमा २ जना, बबरमहलमा १ जना, सेन्ट्रल जेलमा ३ जना र माइतीघरमा ३ जना संक्रमित भेटिएका हुन्। तीन जनाको ठेगाना खुलेको छैन। '२० जना होम आइसोलेसनमा राखेका छौँ,' वडाध्यक्ष हिरालाल तण्डुकारले भने।
कामनपा ११
संक्रमित : ४५ जना
होम आइसोलेसनः २० जना
कामनपा १२ का वडाध्यक्ष विकास डंगोलका अनुसार २२ जनामा देखिएको छ। वडाका एक जनाको निधन भएको र ८ जना डिस्चार्ज भएको उनले जानकारी दिए। हला किर्तिपुर अस्पतालमा ११ जना र होम आइसोलेसनमा ८ जना भएको समेत डंगोलले बताए।
कामनपा १२
संक्रमित : २२ जना
मृत्यु : १ जना
होम आइसोलेसन : ८ जना
कामनपा १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरका अनुसार वडामा ६३ जनामा संक्रमण पुष्टि भएको छ। होम आइसोलेसन २१ जना र अस्पतालमा १८ जना छन्। निको भइसकेका १२ जना छन् भने होम आइसोलेसनका ४ जना र अस्पताल आइसोलेसनबाट ८ जना निको भएका हुन्।
कामनपा १३
संक्रमित : ६३ जना
होम आइसोलेसन : १ जना
कामनपा १४ अहिले सम्म यहाँ ९१ जना सङ्क्रमित भेटिएको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिइन्। उनीहरूमध्ये २० जना अस्पतालमा छन् भने १२ जना संक्रमणमुक्त भएका छन्। ३४ जना होम आइसोलेसनमा छन्। 'होम आइसोलेसनमा भएकाहरुलाई मैले निरन्तर सम्पर्कमा रहेकी छु। केही हलुका लक्षण देखिएका पनि घरमै हुनुहुन्छ। केही दिन अघिसम्म कोरोना लागेकलाई छिमेकीले छिछि र दुर्दुर गरेको पाइयो,' उनले भनिन्, 'एकजना सङ्क्रमीतले फोन गर्नुभयो टोलका मान्छेले छिछिर दुरदुर गरे भनेर। त्यसपछि मैले फेसबुक पेजमा र फोनै गरेर सचेत गराए। सङ्क्रमीतलाई अपमान गर्नेलाई कानुनी कारबाही गर्छु भनेर,' उनले भनिन्।
कामनपा १४
संक्रमित : ९१ जना
होम आइसोलेसन : २० जना
कामनपा १५ मा ३५ जना कोरोना सङ्क्रमित छन्। होम आइसोलेसनमा १४ जना र बाँकी अस्पतालमा भएको वडाध्यक्ष ईश्वरमान डंगोलले बताए। 'हामीले आइसोलेसन बनाएका छैनौं,' उनले भने।
कामनपा १५
संक्रमित : ३५ जना
होमआइसोलेसनः १४ जना
कामनपा १६ मा ९४ जना संक्रमित भेटिएका छन्। वडाध्यक्ष मुकुन्द रिजालका अनुसार होम आइसोलेसन १३ जना छन् भने ९ जना निको भएका छन्। 'होम आइसोलेसनमा बस्नेहरुको अबस्था सामान्य छ,' उनले भने ।
कामनपा १६
संक्रमित ९४ जना
होमआइसोलेसनः १३ जना
कामनपा १७ का वडाध्यक्ष जितेन्द्र खड्काका अनुसार हालसम्म ३ जना होम आइसोलेसनमा छन्। ९ जना संक्रमित रहेको र होम आइसोलेसन बस्नेहरूको सम्पर्कमा आफूहरू रहेको उनले बताए। 'विभिन्न कम्पनीमा काम गर्ने मजदूर, स्वास्थ्यकर्मी, इन्जिनियर लगायत त्यहाँका स्थानीय वासिमा समेत कोरोना देखिएको छ। संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान तथा कोरोना परीक्षणकालागि पहल गरिरहेका छौँ । प्रायजसो वडाको सबै स्थानमा कोरोना देखिएको छ । कोहाबाल, ढल्कु, खलिजा, मनाङ गल्ली लगायत स्थानमा कोरोना देखिएको छ,’ उनले भने।
कामनपा १७
संक्रमित ९ जना
निको भएका ५ जना
होम आइसोलेसनमा ३ जना
अस्पतालमा १ जना
कामनपा १८ का वडाध्यक्ष न्हेुच्छेकाजी महर्जनका अनुसार वडामा एक जनामा मात्र कोरोना संक्रमण भएको छ। ‘अरु कसैमा कोरोना देखिएको छैन। संक्रमित एकजना पनि उपचारका लागि अस्पताल आउँदा जाँदा कोरोना देखिएको रहेछ,' उनले भने, 'उहाँको अवस्था सामान्य छ। अस्पतालको आइसोलेसनमा राखिएको छ। वडाको समुदायमा संक्रमण फैलन नदिन सचेत गराइरहेका छौँ। डिसइन्फेक्सन छर्किरहेका छौँ।’
कामनपा १८
संक्रमित १ जना
कामनपा १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठका अनुसार वडामा बाहिर गएर बसेका व्यक्ति, व्यापारी र अन्य जनसम्पर्कमा आउने व्यक्तिहरुमा कोरोना देखिएको थियो। उनीहरुको सम्पर्कमा आएका व्यक्तिमा कोरोना परीक्षण गर्दा देखिएको छैन।
आइतबारसम्म वडाका सबै संक्रमित निको भइसकेको उनले बताए। 'समुदायमा कोराना नफैलियोस भनेर हामीले सचेत गराइरहेका छौँ। तर मानिसहरु अटेर गरेर भिडभाड गरिरहेको अवस्था छ। यसले जोखिम बढेको छ,’ उनले भने।
कामनपा १९
संक्रमित ४ जना
निको ४ जना
कामनपा २० मा स्वास्थ्यकर्मी तथा उनीहरुका परिवारमा कोरोना देखिएको छ। एकजना संक्रमितको मृत्युसमेत भइसकेको छ। मृतकका परिवारमा कोरोना पिसिआर गर्दा नदेखिएको वडाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए।
'कोरोना देखिएका अन्य स्वास्थ्यकर्मीका परिवारको पिसिआर गरिएको छ रिपोर्ट आइसकेको छैन,' उनले भने, 'उपत्यकाका अस्पताल भरिसकेको अवस्था छ। कोरोना संक्रमण बढ्दै गयो भने संक्रमितहरु मध्ये अधिकांशलाई होमआइसोलेसनमा राख्नुपर्ने अबस्था आउँछ।' कोहिटी, भिमसेन स्थान, रामघाटलगायत स्थानमा कोरोना देखिएको छ।
कामनपा २०
संक्रमित ४ जना
मृत्यु : १ जना
अस्पतालमा : २ जना
होमआइसोलेसन : १ जना
कामनपा २१ मा प्रभावित जिल्लाबाट आएकाहरुमा कोरोना देखिएको थियो। अहिले कोरोना विस्तारै समुदायमा फैलिएको वडाध्यक्ष उदयचुणामणि बज्राचार्यले जानकारी दिए। अस्पताल भरिएकोमा उनले चिन्तासमेत व्यक्त गरे। उनका अनुसार वडामा एक जना मात्र होम आइसोलेसनमा छन्।
'संक्रमितको संख्या बढ्दै गयो भने आइसोलेसनको व्यवस्थापनका लागि वडा स्तरीय रुपमा बजेट छुट्याएको छैन,' उनले भने, 'महानगरपालिकाले यसको व्यवस्थापन गर्ने भनेको छ।’
कामनपा २१
संक्रमित : ५ जना
अस्पतालमा : ४ जना
होम आइसोलेसनमा : १ जना
कामनपा २२ का वडाध्यक्ष चीनकाजी महर्जनका अनुसार वडाका संक्रमितमध्ये अधिकांशको अवस्था सामान्य छ। २ जना निको भएर फर्किसकेका छन्। अहिले ३ जना अस्पतालमा छन्।
'अस्पतालमा राख्न नपर्ने अबस्था सामान्य भएकाहरु होमआइसोलेसनमा हुनुहुन्छ। संक्रमितको चाप बढेसँगै अस्पतालका बेड भरिएका छन् । महानगरले छुट्टै आइसोलेसन बनाउने तयारी गरेको जनाएको छ,’ महर्जनले भने।
कामनपा २२
संक्रमितः १७ जना
निको भएका : २ जना
अस्पतालमाः ३ जना
होम आइसोलेसनमाः १२ जना
कामनपा २३ मा बाहिरबाट आएको ४ जना र स्थानीय ३ जनामा कोरोना भएको छ। एकजना निको भएर घर फर्किएको र बाँकी अस्पतालको आइसोलेसनमा भएको वडाध्यक्ष मचाराजा महर्जनले जानकारी दिए।
कामनपा २३
संक्रमितः ७ जना
निको भएकोः १ जना
अस्पतालमाः ६ जना
कामनपा २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठका अुनसार वडाको न्युरोडको सुनपसलमा काम गर्ने तथा स्थानीयमा कोरोना देखिएको छ। सबैको अवस्था सामान्य छ। '३ जना आफैँ सुरक्षित बस्ने भनेर होम आइसोलेसनमा बस्नु भएको छ। बाँकी ४ जना अस्पतालमा हुनुहुन्छ,’ वडाध्यक्ष श्रेष्ठले भने।
कामनपा २४
संक्रमित : ७ जना
अस्पतालमा : ४ जना
होम आइसोलेसनमा : ३ जना
कामनपा २५ का वडाध्यक्ष राजेश डंगोलका अनुसार संक्रमित सबै महाबौद्धको होलसेलमा काम गर्ने बढी संक्रमित छन्। अस्पतालमा बेडको अभाव भएकाले संक्रमितहरु सबैलाई घर बस्नु भनिएको उनले बताए। 'समस्या परे खबर गर्नु भनेर स्वास्थ्यटोलीले उहाँहरुलाई सम्पर्क नम्बर उपलब्ध गराएको छ,’ उनले भने।
कामनपा २५
संक्रमित १२ जना
निको भएको २ जना
होम आइसोलेसनमा १० जना
कामनपा २६ का क्लिनिक इन्चार्ज मिठु श्रेष्ठका अनुसार वडामा ४९ जना संक्रमित छन्। धेरैजसोको अवस्था सामान्य छ। 'अस्पतालमा गम्भीर बिरामीका लागि मात्र बेड उपलब्ध भएका कारण हामीले सामान्य अवस्था भएकालाई होम आइसोलेसनमा नै राखेका छौँ,' उनले भने, 'होम आइसोलेसनमा बस्दा कुनै समस्या देखिएमा अस्पतालमा लैजान्छौँ । हामी विरामीको सम्पर्कमा नै छौँ।’
कामनपा २६
संक्रमित : ४९ जना
निको भएको : ६ जना
होम आइसोलेसनमा : ११ जना
अस्पतालमा : ३२ जना
कामनपा २७ का नरेशमान महर्जनका अनुसर वडामा ५६ जना संक्रमित देखिएका छन्। ‘भारतबाट आएकाहरुबाट कोरोना समुदायमा फैलिसकेको अबस्था छ । एउटै परिवारका ८ जनासम्ममा कोरोना भेटिएको छ,' उनले भने।
'अस्पताल भरिएकाले होम आइसोलेसनमा राख्न मिल्नेलाई सुरक्षित रुपमा घरमा बस्न भनेका छौँ। उहाँहरुलाई वडाले हरेक दिन जसो परामर्श गरिरहेको छ। संक्रमणको अबस्था दिनानुदिन बढ्दै गएको छ,' उनले भने, 'अस्पतालमा बेड छैन। एउटै कोठामा कोरोना संक्रमित र कोरोना नभएकाहरु बस्नुपर्ने स्थिति नआओस भनेर महानगरका मेयर ज्युसँग कतै खुल्ला स्थानमा आइसोलेसन सञ्चालन गर्न सकिन्छ कि भनेर छलफल भइरहेको छ।’
कामनपा २७
संक्रमित : ५६
निको भएको : १२
अस्पतालमा : २० जना
होम आइसोलेसनमा : २२ जना
कामनपा २८ मा हालसम्म ३२ जना संक्रमित भेटिएका छन्। २० जना निको भएर घर फर्किएका छन् भने हाल ५ जना होम आइसोलेसनका साथै ७ जना अस्पताल भर्ना भएको वडाध्यक्ष भायराम खड्गीले जानकारी दिए। 'बिरामीहरु सबैको अवस्था सामान्य छ। अस्पताल राख्न पर्नेलाई अस्पतला पठाएका छौं,' उनले भने।
कामनपा २८
संक्रमित ३२ जना
निको भएको २० जना
अस्पतालमा ७ जना
होम आइसोलेसनमा ५ जना
काठमाडौं २९ का कुश ढकालका अनुसार वडामा ३० जना संक्रमित भेटिएको र १२ जना निको भइसकेका छन्। 'संक्रमितहरुको अबस्था सामान्य भएकाले उनीहरु सबैलाई होम आइसोलेसनमा राखिएको छ,' उनले भने, 'अस्पतालमा बेडको अभाव पनि छ । सामान्य अबस्था भएकालाई अस्पताल लग्यो भने झन् जोखिम हुने अबस्था छ । अहिले त सबैजसो होमआइसोलेसनमै बस्न रुचाउनु भएको छ।’
कामनपा २९
संक्रमित ३० जना
निको भएको १२ जना
होम आइसोलेसनमा : १८ जना
कामनपा ३० का वडाध्यक्ष दलबहादुर कार्कीका अनुसार कालोपुल, मैतिदेवी लगायत वडाका २१ स्थानमा कोरोना देखिसकेको अबस्था छ। वडामा छुट्टै आइसोलेसन बनाउने अवस्था छैन। उनका अनुसार वडाका विद्यालयलाई आइसोलेसनमा राख्ने विषयमा छलफल भए पनि स्थानीयले विरोध गरेका छन्। 'आइसोलेसनको व्यवस्थापन कहाँ गर्ने के गर्ने त्यो त महानगरपालिकाले नै गर्नपर्छ,’ उनले भने।
कामनपा ३०
संक्रमित ३२ जना
होमआइसोलेसनमा ७ जना
अस्पतालमा २५ जना
कामनपा ३१ की वडा सदस्य हुमादेवी आचार्यका अनुसार वडाले सबै संक्रमितलाई सम्पर्क गरिरहेको बताइन्। होम आइसोलेसनमा रहनु भएका सबैको अबस्था सामान्य भएको उनले जानकारी दिइन्। 'वडाले फोनमार्फत् दैनिक परामर्श दिइरहेको छ। केही अप्ठ्यारो पर्यो भने खबर गर्नुस् भनेका छौँ,’ उनले भनिन्।
कामनपा ३१
संक्रमितको जम्मा संख्याः २९
निको भएकोः ६ जना
होम आइसोलेसनमाः १३ जना
अस्पतालमाः ९ जना
कामनपा ३२ का क्लिनक इन्चार्ज मैयाँ सैँजूका अनुसार अस्पताल भरिँदै गएकाले सामान्य अवस्था भएकाहरुलाई ३९ जनालाई होम आइसोलेसनमा राखिएको हो। होम आइसोलेसनमा राखिएकालाई वडामार्फत दिनको दुई पटक सम्पर्क गर्ने गरिएको उनले जानकारी दिइन्। वडामा १४९ जना संक्रमित छन्।
कामनपा ३२
संक्रमित १४९
निको भएको ७ जना
मृत्यु १ जना
होम आइसोलेसनमा ३९ जना
अस्पतालमा १०२ जना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।