काठमाडौँ- साउन दोस्रो साता म काठमाडौंमा क्वारेनटाइन बसेको थिएँ। वीरगञ्जका मेयर विजय सरावगीसँग एक कार्यक्रममा सहभागी भएको र वहाँलाई कोरोना संक्रमण पुष्टि भएपछि म क्वारेनटाइनमा बसेको थिएँ। परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि अरुलाई सर्ला भन्ने डरले क्वारेन्टाइनमा बसेँ। त्यही समयमा नेकपाका एक नेताको घरमा ४९ वर्षकी एक महिला बितेको र उनीहरुको परिवारमै कोभिड-१९ को लक्षण देखिएको खबर पाएँ।
साउन १८ गते बुटवल उपमहानगरपालिका-११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो।
उनी क्यान्सरको उपचारका लागि अस्पताल भर्ना भएकी थिइन्। मृत्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ कि भनेर अस्पताललाई सोधेका थिए। केमोथेरापीका क्रममा हृदयाघातबाट मृत्यु भएकाले अस्पतालले स्वाब संकलन नगरी शव पठाएको थियो। अस्पतालले आत्मविश्वासका साथ शव दिएपछि परिवारले हिन्दू संस्कारअनुसार दाहसंस्कार गरे।
एक हप्ताको क्वारेनटाइन बसाइपछि म बुटवल पर्खेर उक्त परिवारका सदस्यलाई भेट्न पुगेँ। वहाँहरूको अन्तिम संस्कारमा सहभागी भएका सबैको नाम र नम्बर डायरीबाट लिइयो। अनि शुरु भयो कन्ट्याक ट्रेसिङ। यसरी गरेको कन्ट्याक ट्रेसिङको शुक्रबारसम्म रिर्पोट आइरहेको थियो। लगत्तै उक्त दिन मलामी गएकालाई कोरोना परीक्षण गर्न नगरले आग्रह गर्यो। उनीहरुलाई अलग्गै बस्न पनि भनियो।
यही घटनाले अहिले बुटवल नगरको एउटा क्षेत्र त्रासदीपूर्ण भएको छ। सामान्य मृत्यु ठानेर छिमेकी, नातागोता र गाउँले गरी ४५ जना मलामी गएको पछि जानकारी पाइयो। दाहसंस्कार गरेर आएको केही दिनमै मृतकका देवरलाई कोभिड–१९ को लक्षण देखियो। नगरपालिकाले जानकारी पाएपछि उनको स्याम्पल टेस्टिङ गरियो। साउन २२ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आयो। उनको कोरोना पोजिटिभ देखिएपछि थप मानिसको परिक्षण थालियो। मृतकका श्रीमान, छोरा, ज्वाइँ, आमा तथा छोरीमा पोजेटिभ देखिएको छ। उक्त दिन मलामी गएका मध्ये १५ जनाको पोजेटिभ आयो। अन्य केहीले बाहिर गराएका र उनीहरूमध्ये केहीको पोजेटिभ आएको खबर पाएका छौँ।
उक्त संक्रमण ती मृतकवाट भयो वा अन्यवाट भयो भन्ने यकिन भने हालसम्म हुन सकेको छैन। उक्त परिवार र मलामी जाने कार्यमा संलग्न अधिकांशलाई कोरोना देखिएको छ। मृतकका देवरदेखि अन्तिम संस्कार गराउने पण्डितसम्म संक्रमित भएकाले अहिले सबैलाई परीक्षण गराएर क्वारेनटाइनमा राखिएको छ।
लकडाउन खुलेसँगै फैलियो कोरोना
साउन ७ गतेबाट लागू हुने गरी सरकारले देशव्यापी लकडाउन खोल्ने निर्णय गरेपछिका दिनमा यो क्षेत्रमा कोरोना संक्रमित ह्वात्तै बढे। यसमध्ये मैले बिरर्सन नसक्ने एउटा घटना भयो। लकडाउन खुलेसँगै एकजना व्यवसायीले बाराबाट सात जना मजदुर भित्र्याए। उनले ल्याएका ती व्यक्तिको बारेमा जानकारी पाएपछि हामी परीक्षणका लागि पुग्यौँ। यसरी ल्याएका ७ जना मजदूरको स्वाब परीक्षण गर्दा सबैमा कोरोना पोजिटिभ देखियो।

उनीहरूलाई तत्कालै आइसोलेसन पठाइयो। यसले गर्दा समुदायमा पुग्न लागेको संक्रमण नगरपालिका रोक्न सफल भयो। तर अहिले यसरी छिर्ने मानिसहरुको बारेमा धेरै जानकारी नपाउँदा यो समुदायमा पुगेको छ। व्यापारी, उद्योगी व्यवसायी तथा आम मानिससमेत इमान्दार नहुँदासम्म कोरोना संक्रमण नियन्त्रण गर्न सकिने देखिँदैन। प्रभावित जिल्लाबाट ल्याइने कामदारहरु र भित्रने मानिसलाई इमान्दारितापूर्वक कोरोना परीक्षण गराउन सके मात्र यसलाई नियन्त्रण गर्न सकिन्छ नत्र नगरले चाहेर मात्र यो रोक्ने देखिँदैन।
हाट बजारदेखि अस्पतालसम्म संक्रमित
लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, बुटवल उपमहानगरपालिकाका कर्मचारी तथा सर्वसाधारणमा पनि कोरोना संक्रमण देखिएको छ। हाटबजारमा समेत पुगेको पाइएको छ। नगरले रोक्न धेरै प्रयास गर्दागर्दै संक्रमण सर्वसाधरणमा पुगेकाले अब यसको जरो खोजीदेखि रोकथामसम्म एकैपटक गरिरहेका छौँ।
आइसोलेन भरिए, होम आइसोलेन राखिँदै
पछिल्ला १५ दिनमा लगातार कोरोना संक्रमित थपिएपछि बुटवलमा बनाइएका आइसोलेसन बेड भरिइसकेका छन्। लुम्बिनी प्रादेशिक अस्पतालले निर्माण गरेको रामनगरस्थित धागो कारखानामा रहेको आइसोलेसनमा ३७ जना संक्रमित राखेका छौँ। बुटवल उपमहानगरपालिकाले देवीनगरस्थित एन्फा एकेडेमीमा तयार गरेको आइसोलेसनमा ३७ जना संक्रमित राखेका छौँ। संक्रमित थपिँदै जाने र तर आइसोलेसनका बेड खाली नहुँदा नयाँ संक्रमित अहिले होम आइसोलेसनमै राख्न थालेका छौँ। शुक्रबारसम्म संक्रमण पुष्टि भएका विभिन्न वडामा ५८ जना संक्रमित होम आइसोलेसनमा छन्। नगरले लक्षण भएका, होम आइसोलेनमा बस्न नसक्ने, गम्भीर बिरामी भएका र दिर्घरोगीहरुलाई अस्पताल राख्ने प्राथमिकताको सूचीकृत गरेको छ। लक्षण नभएका बिरामीहरुले होम आइसोलेनमा बस्ने र नगरको स्वास्थ्यकर्मीसँग नियमित सम्पर्क हुने व्यवस्था गरिएको छ।
संक्रमितहरुको हौसला बढाउन अहिले घरघर पुग्ने अभियान शुरु गरिएको छ। म आफै अनिवार्य रूपमा संक्रमण पुष्टि भएका व्यक्तिको घरमा पुग्ने गरेको छु। होम आइसोलेसनमा रहेका संक्रमितलाई आयुर्वेदिक औषधिसहित शीघ्र स्वास्थ्यलाभको पत्र बोकेर घरघरमै पुगेर हौसला दिएको छु। यसो गर्दा उनीहरुमा आत्मबल वृद्धि हुने र कोरोना जित्नसक्छु भन्ने आत्मविश्वास पलाउने विश्वास छ।
संक्रमण फैलिनुको मुख्य कारण लकडाउन खुलेपछि विदेशवाट आउने मानिस नभई स्थानीयहरुको हेलचक्र्याँइ हो। स्थानीय ठेकेदारहरुले उच्च संक्रमित रहेका जिल्ला र भारतबाट समेत कामदार ल्याउने तर नगरलाई कुनै खबर नगर्ने गर्दा समुदायमा कोरोना पुगेको छ। केही सर्वसाधारणले आफू संक्रमित भएपछि पनि नगरलाई खबर वा अन्य मानिसलाई जानकारी नदिँदा संक्रमण बढेको छ। संक्रमितको सम्पर्कमा जाने परीक्षण नगराउने, गरिहाले पनि खबर कतै नगरी गोप्य राख्ने कार्य पनि भएको नगरको अनुगमनमा पाइयो।
मास्कको प्रयोग र सामाजिक दुरी कार्यान्वयनमा कडाइ
नगरले मास्क लगाउने र सामाजिक दुरी कायम गर्ने कुरालाई कडाका साथ लागू गरेको छ। त्यस्तै नगरले बाहिर निस्कने र भेला हुन रोक लगाउने निर्णय पनि गरेको छ। नगरपालिकाले साउन २९ गते लकडाउन गरिरहेको छ। भदौ ३ गते तीन बुँदे सूचना जारी गर्दै भदौ ४ गतेदेखि ७ गतेसम्म केही क्षेत्रलाई निषेधित क्षेत्र बनाइयो। बुटवलको पुरानो बसपार्कमा रहेको तरकारी बजारमा व्यापक भिडभाड भएको, लुम्बिनी प्रादेशिक अस्पतालदेखि चिनाउपुलसम्म र सब्जीमण्डीदेखि न्यू ईरा होटलसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। सब्जीमण्डीबाट थोक मात्र बिक्री गर्न पाउने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आवश्यक सावधानी अपाउन आग्रह गरिएको छ।
(बुटवलका मेयर सुवेदीसँग नेपाल लाइभकर्मी दुर्गा दुलालले गरेको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।